कर्णाली प्रदेशमा जन्म दर्ता गर्नेको सङ्ख्या सबैभन्दा बढी

सुर्खेत –  कर्णाली प्रदेशमा जन्म दर्ता गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जन्म दर्ताको विवरण अनुसार सबैभन्दा बढी कर्णालीमा र सबैभन्दा कम जन्म दर्ता गर्ने बागमती प्रदेशमा रहेको पाइएको हो ।

आर्थिक सर्वेक्षण २०८९÷०८० अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी जन्म दर्ता भएको जिल्ला कालिकोट (९४.४ प्रतिशत) र सबैभन्दा कम जन्म दर्ता भएको जिल्ला सुर्खेत (७६.८ प्रतिशत) रहेको छ । नेपालमा मातृ मृत्यु दर (प्रति लाखमा) १५१ रहेको छ भने कर्णाली प्रदेशको मातृ मृत्युदर १७२ रहेको छ ।

नेपालमा ५ वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ३० लाख ७ हजार ६ सय ४८ रहेकोमा ७४.० प्रतिशतले जन्म दर्ता गरेका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाको सङ्ख्या २ लाख ४ हजार ६ सय ३८ रहेकोमा ८७.३ प्रतिशतले जन्म दर्ता गरेका छन् ।

विगत १० वर्षमा कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्ये ५५ स्थानीय तहको जनसङ्ख्या बढेको छ भने २४ स्थानीय तहको जनसङ्ख्या घटेको छ ।

प्रदेशका ७९ स्थानीय तह मध्ये सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर भएको स्थानीय तह वीरेन्द्रनगर नगरपालिका (वार्षिक जनसङ्ख्या वृद्धिदर ४.०९ प्रतिशत) र सबैभन्दा बढी जनसङ्ख्या घटेको स्थानीय तह भैरवी गाउँपालिका (वार्षिक जनसङ्ख्या वृद्धिदर (१.१८ प्रतिशत) रहेको छ । नेपालको कुल जनसङ्ख्या मध्ये २.२२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । कर्णाली प्रदेशको कुल जनसङ्ख्या मध्ये ३.१२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता हरेको छ ।

प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी अपाङ्गता भएको जिल्ला जाजरकोट (४.९४ प्रतिशत) र सबैभन्दा कम अपाङ्गता भएको जिल्ला जुम्ला (२.२९ प्रतिशत) रहेको छ । आर्थिक सर्वेक्षण २०८९÷०८० अनुसार कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी साक्षरता दर भएको जिल्ला सुर्खेत (८२.७ प्रतिशत) र सबैभन्दा कम साक्षरता दर भएको जिल्ला हुम्ला (६३.८४ प्रतिशत) रहेको छ ।

त्यस्तै प्रदेशका ७९ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा बढी साक्षरता दर भएको स्थानीय तह वीरेन्द्रनगर नगरपालिका (८७.१६ प्रतिशत) र सबैभन्दा कम साक्षरता दर भएको स्थानीय तह शे–फोक्सुन्डो गाउँपालिका (४५.०३ प्रतिशत) रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.