संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँः कार्यवाहक प्रधानमन्त्री सिंह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतको समिकरणमा सरकार बनाएको बताउनुभएको छ ।

बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८,९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरुको सरकार बनेको बताउनुभएको हो । उहाँले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताउनु भयो । उहाँले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिक स्थिरता र स्थायित्व बिना अरु कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको कारणले गर्दा सबभन्दा पहिले राजनीतिक स्थिरता दिनुप¥यो । गत निर्वाचनबाट जुन परिणाम आयो, संसदको बनावट कस्तो भयो भने ८÷९ महिनामा सरकार परिवर्तन भइराख्ने । आम जनतामा सरकार त टिक्दैन भने सरकारले हाम्रो लागि के राम्रो काम गर्छ र भन्ने भाष्य विकास हुन थाल्यो ।

भन्न त भन्छन्, संसदको ठुलो र दोस्रो ठूलो पार्टी एकै ठाउँमा आएर सरकार बनायो भने त संसदीय प्रणालीकै खिलापमा जान्छ कि भन्ने विचार पनि नआएको होइन । तर हामीले के बुझ्नुप¥यो भने अहिलेको राजनीतिक अस्थिरताको कारणले संसदबाट पनि विधेयकहरु पारित गर्न नसकेको कारणले पनि राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा(एमाले) लगायत अन्य दलहरु मिलेर अहिलेको यो सरकार बनेको छ ।

कांग्रेस–एमालेले आन्दोलन गरेर अधिकार संकुचित भयो ।  पार्टीले सत्तामा गएपछि आफैँले जारी गरेको संविधानको भावना र मर्म विपरित हामी आफैँले जन्माएको संविधानमा भएका अधिकारहरु कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र ? चिताउँदैन नि ।’ सिंहले भन्नुभयो ।

उहाँले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.