मह जोडीको ‘मह जात्रा’ प्रहसन कात्तिक २९ गतेदेखि

काठमाडौँ – कात्तिक २९ गतेदेखि मह जोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रस्तुति दिने भएका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने भएको हो ।

दर्शकहरूलाई हँसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहसनमा वरिष्ठ हास्य व्यङ्ग्य कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिव हरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतको प्रस्तुति रहने बताइएको छ । प्रहसनको मुख्य उद्देश्य हाँस्य व्यङ्ग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ ।

नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितिहरुलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिने बताइएको छ । कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम गर्न लागेकोमा आफू उत्साहित रहेको बताउनु भयो । उहाँले आफूहरू कुनै पनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दलहरूलाई बराबर नजरले हेरेको बताउनु भयो । उहाँले शरीरले साथ दिएसम्म आफूले काम गरिरहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले मनोरञ्जनलाई पहिलो स्थान दिएर एउटा नाटक बनाएको बताउनु भयो । उहाँले दर्शकको मुहारबाट कसरी हाँसो फुस्काउने भन्ने आफूहरूको काम हुने बताउनु भयो । उहाँले राजनीति सुधारको लागि ४० वर्ष अघिदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुधार हुन नसकेको बताउनु भयो । राजनीतिक विकृतिलाई हाँस्यव्यंग्यबाट प्रस्तुत गर्ने गरेको उल्लेख गर्नुभयो । कसैलाई रिस उठ्ने गरी आफूहरूले व्यङ्ग्य नगर्ने बताउनु भयो ।

मह जोडी दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आएको हो । मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरूलाई हँसाउँदै प्रहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको बताइएको छ । यस प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.