नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, सतर्कता अपनाउनु होस्: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।

बिहीबार वाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठुलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठुलो क्षतिहरू भएको र ठाउँ ठाउँमा पहिरो, बाढी आइरहेको भन्दै सतर्क रहन आग्रह गर्नुभयो । उहाँले सरकारले मोबाइलमा उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरूका लागि सूचना सम्प्रेषण गर्नुका साथै सञ्चारमाध्यमबाट पनि सूचना जारी गरेको उल्लेख गर्नुभयो ।

उहाँले सडक सञ्जाल, पुलह रु बाढीले बगाएको र पहिरोका कारण सडक भासिएको हुनसक्ने भन्दै लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरूसँग आग्रह गर्नुभयो । सरकारको तर्फबाट सबै निकायहरूलाई परिचालित गरेर नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद जारी रहेको र देशको विपद्बारे जानकारी गराएको बताउनु भयो । प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई जनताको सुरक्षाका लागि खटाउन र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठुलो क्षतिहरू ठाउँ ठाउँमा पहिरोदेखि लिएर बाटोको कटान भएका कारणले र पानीको बहाव अनियन्त्रित रूपमा बढेको कारणले गर्दा अवस्था वर्षा तको कारणले नाजुक छ । हामी सबै त्यसमा अलर्ट हुनुपर्ने अवस्थामा छ । अहिले खास गरी नेपाल सरकारको तर्फबाट सबै निकायहरूलाई परिचालित गरेर समयमयमा सामाजिक सञ्जालको मार्फत, सञ्चारमाध्यमको मार्फत सबै ठाउँमा त्यहाँको स्थानीय अवस्थाको बारेमा जानकारी गराउने र अलर्ट हुनुपर्नेलाई सजग हुनुपर्छ भनेर सूचना जारी गरिरहेको छ । वर्षातले गर्दा जनधनको क्षति भएको छ । त्यसमा खास गरी यो अवस्थाबाट डिजास्टर म्यानेजमेन्टको समितिले एक्टिभाइज गरी सबैलाई अलर्ट गराउने र त्यसमा पनि सुरक्षा निकायलाई मात्रै होइन, स्थानीय तहबाट पनि र हरेक प्रदेश सरकारले मिलेर अहिलेको वर्षा तको कारणले गर्दा जुन समस्या उत्पन्न भएको छ त्यसको समाधान गर्न सबै मिलेर गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूसँग टेलिफोनमा वार्ता भइरहेको छ । यहाँको बारेमा अवस्थाको बारेमा जानकार हुनुहुन्छ । सम्बन्धित निकायलाई गृहमन्त्रीदेखि लिएर योसँग सम्बन्धित मन्त्रालय र मन्त्रीलाई बोलाएर कुरा गरेर जनतालाई बढी जनधनको क्षति हुन नदिने काममा आवश्यक काम अघि बढाइरहेका छौँ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले जनतालाई सुरक्षित राख्न र थप क्षति हुन नदिने गरी सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । बिहीबार देखी भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नदीहरूमा आएको बाढीले जनधनको ठुलो क्षति गरेको छ भने उपत्यकाका सडकहरू जलमग्न छन् । नदी किनारका बस्तीहरूमा बाढी पसेको छ । उपत्यका भन्दा बाहिर पनि सडकहरू बाढीले बगाएको छ । जनधनको क्षति भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.