पहिरोमा परी एन्फा एकेडेमीका ६ छात्र सम्पर्कविहीन

फाइल फोटो

मकवानपुर – वर्षाका कारण आएको पहिरोले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं–३ स्थित एन्फा एकेडेमीका ६ छात्र सम्पर्कविहीन रहेका छन् ।

वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनरत ६ जना छात्र वेतत्ता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो ।

कुलेखानी जलाशयका कारण आएको बाढी विद्यालय डुबानमा पर्ने डरले सुरक्षित स्थानमा सार्दै गर्दा टेकर भन्ने स्थानमा आएको पहिरोमा ती छात्रहरू पुरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा अनुप घलान, प्रियाँक आचार्य, विकल रेग्मी आदित्य बलमंपाखी, विवस बाँनिया र साइमन योन्जन रहेका छन् । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थल तर्फ जाँदै गरेको इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष श्रीकृष्ण पुडासैनीले जानकारी दिनुभयो ।

छात्रावासमा अन्डर १३ समूहका ४० जनालाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले गत जेठ महिनादेखि बन्द प्रशिक्षणमा राखेको थियो । ३४ जनालाई सुरक्षित स्थानमा सारिएको विद्यालयका शिक्षक सुदर्शन घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.