वर्षाजन्य विपद्ले भएको क्षतिप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

काठमाडौँ–  देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।अविरल वर्षाका कारण व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिकोे क्षति भएकामा उहाँले दुःख व्यक्त गर्नुभएको हो ।

“मानिसहरु बेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति कांग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु”–सभापति देउवाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय एवं भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले निदेश समेत दिनुभएको छ । दलका साथीलाई व्यवस्थित ढङ्गले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै उहाँले यो विपत्तिको सामना संयम् र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा सभापति देउवाले अपिल गर्नुभएको छ ।

प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.