हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर- शुक्रबार र शनिबारको अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध भएका छन् ।

हेटौँडबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली र त्रिभुवन लोकपथ सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङमा माथिबाट पहिरो र खोलामा बाढी आई बाटो पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सोही सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला स्थित लच्कामा आएको बाढीले बाटो पूर्ण अबरुद्ध बनाएको उहाँले जानकारी दिनुभयो ।

कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका-११ आँपचौर र लाम्राङमा खसेको पहिरो र भीमफेदी गाउँपालिका-८ बागमती खोलाको पुल बाढीले कटान गर्दा बाटो पूर्ण रुपमा अबरुद्ध बनेको छ ।

भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका- ४ रातोमाटे, वडा नम्बर ६ को ढोकाफेदी पहिरो जाँदा बाटो बन्द भएको छ ।

त्रिभुवन लोकपथ अन्तर्गत थाहा नगरपालिका–१ दामनमा पहिरो गएर बाटो अवरुद्ध बनेको प्रहरीले जनाएको छ । उक्त पहिरो हटाउने कार्य भैरहेको छ ।

त्यस्तै, प्रदेश राजधानी र संघीय राजधानी जोड्ने सबैभन्दा छोटो दुरीको फाखेल चखेल मातातीर्थ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसी बाटो अवरुद्ध बनेको प्रहीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.