केयूमा २५ औँ मेलो (MELOW) अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काभ्रे- प्रतिकूल मौसमका बाबजुद धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा २५औँ मेलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टिइथ्निक लिटरेचर अफ द वर्ल्ड- मेलो’ र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजनामा उक्त सम्मेलन ९ असोजबाट सुरू भई तीन दिनसम्म चलेको हो।
नेपाल र भारतका करिब २०० भन्दा बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको यो सम्मेलन साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव जीवनमा पर्यावरणीय सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विषयमा केन्द्रीत रह्यो ।
प्राध्यापक रामचन्द्र पौडेलद्वारा सञ्चालित सम्मेलनको अन्तिम सत्र “भिजन अफ नेचरस् स्पेस, ल्यान्डस्केप एण्ड फरेस्ट्स इन स्याक्रेड एण्ड लिटररी ट्रेडिसन्स” मा प्रा कृष्णचन्द्र शर्माले वातावरण र मानव सभ्यताको महत्वमाथि वेदको सन्दर्भ लगायतको चर्चा गर्नुभएको थियो ।
मानव र प्रकृति सम्बन्धमा आगोको महत्वका बारेमा दर्शाउँदै उहाँले “आगो मानव सभ्यताको अगुवा हो, आगो नै शक्ति, बुद्धि, सोच र अस्तित्वको प्रतिक हो- भन्नुभयो ”
यसैगरी, प्रा आनन्द शर्माले पारिस्थितिक पद्धति र कथा बाचनको परम्परा कायम राख्न रूखले खेल्ने भूमिका बारे चर्चा गर्नुभयो । अमेरिकन लेखिका लेस्ली मेर्मोन सिल्कोद्वारा लिखित पुस्तक सेरमनीको प्रसङ्ग दिँदै उहाँले भन्नुभयो, “कथाहरू नहुँदा मान्छेसँग केही रहँदैन”, उहाँले थप्नुभयो, “जब हामीसँग रूख हुँदैनन्, अनि कथाहरू कसरी बन्लान्? ”
यसै क्रममा प्रा जीवलाल सापकोटाले पर्यावरणमा स्थानको महत्वबारे चर्चा गर्नुभयो । उहाँले पर्यावरण साहित्य, समालोचना र समालोचकहरूको सन्दर्भ जोड्दै विकासको कारणबाट उब्जने प्रकृति माथिको अधीन नै विनाशको कारक बन्न नहुने तर्क राख्नुभयो।
सम्मेलनको अन्त्यमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले मानविकी सङ्कायमा उच्च तहका कार्यक्रम र नयाँ पाठ्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत कला, साहित्य, र भाषा जस्ता विषयहरूलाई प्राथमिकतामा राखिएको जानकारी पनि गराउनु भयो ।
यसैबीच, मेलोकी अध्यक्ष प्रा डा मञ्जु जाइड्काले नेपालमा पहिलो पटक मेलो सम्मेलन सम्पन्न भएकोमा काठमाडौँ विश्वविद्यालय परिवारलाई बधाइ दिनुभयो । प्रा जाइड्काले भन्नुभयो, ‘वाधा अड्चनहरू नै कथा र अनुभवका स्रोत हुन्, चाहे ती राम्रा हुन् वा नहुन्, हामीलाई धेरै कुरा तिनीहरुले नै सिकाउँछन्।’
कार्यक्रममा भेलर इन्स्टिच्युट अफ टेक्नोलोजी, आन्ध्र प्रदेश भारतकी सहायक प्रा ऋतु भार्गिजलाई उनको शोध “मिरामाइस इन वृन्दावनस् रिडिङ्ग भक्ति, स्पासियलिटी एण्ड ट्रमा इन के आर मिराज द पोइजन अव लभ” का लागि ISM अवार्ड पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै केयू स्कुल अफ म्यानेजमेन्टका असोसिएट डीन डा खगेन्द्र आचार्यले सम्मेलनको प्रसारण प्रवर्द्धनमा भएको सहयोगप्रति केयूका सहकर्मीहरुलाई धन्यवाद दिनुभएको थियो ।
यस अन्तर्राष्ट्रिय सम्मेलनका मिडिया संयोजक काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका असोसिएट प्रोफेसर डा काशीराज पाण्डेले विश्वविद्यालयले साहित्य र संस्कृतिसँग पर्यावरणीय अवस्थालाई जोडेर गरेको यो कार्यक्रम अन्त्यन्त सफल र परिणाममुखी भएको जानकारी नेपालटिभीअनलाइनलाई दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्