पार्टीको कार्यक्रम स्थगित गरी उद्धार र राहतमा लाग्न एमालेको निर्देशन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले बाढीपहिरो र डुबानबाट प्रभावित भएका जिल्लामा निर्धारित कार्यक्रमहरू स्थगन गरी उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ ।

आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीले निर्धारित कार्यक्रमहरू स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको एमालेका महासचिव शङ्कर पोखरलेले बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विपद्को यस दुःखद घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई राहत, बेपत्ताको अविलम्ब खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधोपचार गर्न र घरबारविहीनको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकले बडादसैँ नजिक आइरहेकाले बाढीपहिरोबाट भत्किएका पुल र बाटो तत्काल बनाउन सरकारसँग आग्रह गरेको छ । महासचिव पोखरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चाडपर्व नजिक ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ । पुल, सडक भत्किएका छन्, विद्युत् लाइन र खानेपानी अवरुद्ध भएका छन् । यस अवस्थालाई मध्यनजर गरी अवरुद्ध सडक खोल्न, मर्मत गर्न, नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गअन्तर्गको लार्चा पुल, बिपी राजमार्ग, मदन भण्डारी राजमार्गलगायत देशभर विभिन्न ठाउँका पुल बाढीले बगाएको हुँदा पुनःनिर्माण गर्न, जनजीवनलाई सहज बनाउन नेपाल सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”

उहाँले बाढीपहिरो र डुबानले जसरी जनजीविकाको क्षति गरेको छ, त्यसैगरी ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालय डुबानमा परी निकै ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । पार्टी कार्यालयसमेत सञ्चालनमा ल्याउन अप्ठ्यारो परिरहेकाले पार्टीको विपत् व्यवस्थापन विभाग र केन्द्रीय कार्यालयको संयोजनमा पार्टीका स्वयंसेवक परिचालन गरी कार्यालय भवन र परिसरको सफाइ गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.