बिदेश जाने सपनासँगै पासपोर्ट, पैसा, सुनसहितको झोला रोशी खोलाले बगाएपछि….

काभ्रे- झापाकी हिमा न्यौपाने वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिइन् । आइतबार उनको दुबइको लागि फ्लाइट थियो । मौसमको भर हुँदैन भनेर उनी शुक्रबार नै झापाबाट काठमाडौं हिंडेकी थिइन् । वि.पी राजमार्ग हुँदै उनी काठमाडौं हिंडेकी थिइन् ।

तर, बिहीबार रातीदेखि परेको पानीले वी.पी राजमार्गमा यातायात अवरुद्ध भएपछि उनी राजमार्गको रोशी गाउँपालिकास्थित कालढुंगामा रोकिइन् । शुक्रबारदेखि पानी निरन्तर परिरह्यो । उनी बाटो खुल्ने प्रतिक्षामा थिइन् ।

राजमार्गका विभिन्न स्थानमा बाढी र पहिरोले बाटो अवरुद्ध भएपछि उनको आश मर्न थाल्यो । अब त जान नसकिएला कि भन्ने चिन्ता लाग्न थाल्यो । जसोतसो अघि बाटो लाग्दै गर्दा उनको साथमा भएको पासपोर्ट, पैसा, सुन सहित भएको झोला रोशी खोलाले बगायो ।

‘न त विदेश जान सकियो, न त यहाँबाट अघि लाग्न सकियो’, उनले दुःख व्यक्त गर्दै भनिन्, ‘तीन दिनदेखि भोकै छौं, पानी समेत खान पाएका छौं, अगाडी जान सकिने स्थिती छैन, अगाडी बाटो बाढी र पहिरोले बन्द छ, यहाँ कहिलेसम्म कसरी बस्ने हो ?’

विराटनगरबाट परीक्षा दिनका काठमाडौं हिंडेका ३ जना परीक्षार्थीहरु बीचबाटोमै रोकिएका छन् । शनिबार जापनिज भाषाको परीक्षा दिन हिंडेका उनीहरु शुक्रबार नै विराटनगरबाट हिंडेका थिए । तर, राजमार्गमा यातयात ठप्प भएपछि उनीहरु शुक्रबारदेखि नै कालढुंगामा रोकिए ।

‘जाँच पनि दिन पाइएन,’ एक परीक्षार्थीले भनिन्, ‘जसो सो ज्यान त बाँचिएको छ, अहिलेको लागि यही नै ठूलो कुरा भएको छ, ३ दिनदेखि यहाँबाट अगाडी बढ्न सकेका छैनौं, खाना-पानी केही छैन, हामीलाई यहाँबाट सरकारले चाँडोभन्दा चाँडो उद्धार गरिदिए हुन्थ्यो ।’

कोही विदेश, कोही रोजगारी, कोही परीक्षा दिन, कोही उपचारका लागि हिंडेका सयौं यात्रुहरु अलपत्रै परेका थिए । आफूहरुलाई चाँडोभन्दा चाँडो उद्धार गर्न उनीहरुले सरकारसमक्ष अनुरोध गरिरहेका छन् ।

हिंडेका महेन्द्र बहादुर खडका पनि सर्लाहीबाट काठमाडौं हिंडेका थिए । राजमार्ग बाटो अवरुद्ध भएपछि कालढुंगाबाट अघि लाग्दै उनी दुर्घटनामा परे । पहिरो र बाढीबाट जोग्निे क्रममा खुट्टा भाँच्चिएको उनले बताए ।

‘विपति त धेरै देखियो, तर यस्तो खालको विपति पहिलो पटक देखे,’ उनले भने, ‘यसभन्दा अघि पनि ३ वटा दुर्घटनामा परेको थिए, तर यहाँ जुन भोगे, त्यस्तो त कहिल्यै देखेको थिइन, शुक्रबारदेखि यहाँ फसेका छौं, बाटो सबै बन्द छ, समयमै उपचार पनि गराउन सकिएन ।’ उनलाई आइतबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । त्यस्तै चालकहरुको पनि आफ्नै पिडा छ ।

बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरुलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो ।

हेलिकप्टरमार्फत उक्त स्थानमा रहेका बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो चरणमा प्राथमितामा राखेर उद्धार गरिएको रोशी गाउ“पालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार, वि.पी राजमार्गमा दर्जनौं ठाउँमा पहिरो गएकाले तत्काल सडक खुलाउनको लागि सम्भव देखिदैन । यस स्थानमा अलपत्र परेका सयौं यात्रुहरुलाई चाँडोभन्दा चाँडोभन्दा उद्धार गर्न उहाँले सरकार समक्ष अनुरोध गर्नुभयो ।

पहिलो चरणमा बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार कार्य भइरहेको र त्यहाँ फसेका अन्यलाई चरणबद्ध रुपमा उद्धार कार्य गरिने नेपाली सेनाको कालीजंग गणका गणपति प्रकाश बहादुर सिंले जानकारी दिनुभयो । आइतबार करिब डेढ सय जनाको उद्धार गरिएको उहा“ले बताउनुभयो ।

जिल्ला स्थित मुख्य दुई राजमार्ग वि.पी र अरनिको राजमार्ग पहिरो र बाढीका कारण दुईदिनदेखि अवरुद्ध भएको छ । त्यस्तै, जिल्लाका विभिन्न पालिकासँग जोडिने सडकखण्ड पनि पहिरो र बाढीले गर्दा अबरुद्ध भएको छ ।

हालसम्म काभ्रेमा ३१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको । त्यस्तै विपदमा परेर १९ जना घाइते, ४२ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.