मानवीय पत्रकारितामा जोड दिन नेपाल रेडक्रसको आग्रह

काठमाडौँ  – मानवीय पत्रकारितामा जोड दिन नेपाल रेडक्रस सोसाइटीले आग्रह गरेको छ । सोसाइटीले आइतवार आफ्नै कार्यालय कालीमाटीमा आयोजना गरेको एक कार्यक्रममा मानवीय संवेदनशील विषयलाई उठाउनुपर्नेमा जोड दिएको हो ।

संस्थाका महामन्त्री भूपति लाल श्रेष्ठले पत्रकारिता र रेडक्रस दुवैको उद्देश्य कुनै विन्दुमा गएर जोडिने हुँदा सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै, मानवीय पत्रकारिताको अभ्यासका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै, संस्थाका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटी अन्तर्गत ‘मानवीय पत्रकार च्याम्पियन समूह’ नै गठन गरेर जोड मानवीय पत्रकारिताको अभ्यास गर्ने तर्फ लाग्न जोड दिनुभयो । कार्यक्रममा च्याम्पियन समूह , के आधारमा गठन गर्ने र कसरी सञ्चालन गर्ने भन्नेबारे पत्रकारसँग अन्तरक्रिया गरिएको थियो । छलफलको निष्कर्ष अनुसार नै अगाडि बढ्ने ढकालले बताउनुभयो ।

संस्थाको मानवीय मूल्य तथा सञ्चार विभाग निर्देशक विपुल न्यौपानेले उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै हाल अभ्यासमा रहेको पत्रकारिताले केही हदसम्म मान्छेमा त्रास फैलिएकोले नकारात्मक र अभावका कथा मात्र नलेखेर सकारात्मक साथै सहयोगका कथालाई पनि समेट्न अनुरोध गर्नुभयो । ‘विपद् को बेलामा मृत्यु, घाइतेबारे तथ्याङ्कको मात्र समाचार बनाउँदा मानिसमा त्रास फैलिन्छ । बरु, यतिको उद्धार, सुरक्षित आदिबारे समाचार बनाउँदा मानिसमा सकारात्मकता फिँजिन्छ ।’, नेपाल रेडक्रस सोसाइटीका निर्देशक विपुल न्यौपानेले भन्नुभयो । रेडक्रस लगायत अन्य क्षेत्रबाट भएका राहत उद्धार आदिका घटनालाई पनि प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विपद् व्यवस्थापन विभाग निर्देशक सागर श्रेष्ठले पूर्व सूचनाको प्रसारण र प्रकाशनमा विशेष पहल गर्नुपर्नेमा जोड दिनुधयो । नेपालमा भूकम्प, बाढी लगायतका प्रकोपको जोखिम सधैँदेखि रहिरहेकाले त्यस्ता जोखिमको पूर्व सूचना पाएमा मानिसहरूमा त्रास नफैलिने तरिकाले सूचना प्रवाह गर्न श्रेष्ठले अनुरोध गर्नुभयो । साथै, के उपाय अवलम्बन गर्दा सुरक्षित रहन सकिन्छ भन्नेबारेमा पनि जोड दिन उहाँले आग्रह गर्नुभयो  ।

मानव सेवा नै मुख्य लक्ष्य मानेर स्थापना भएको रेडक्रस अन्तर्गतको नेपाल रेडक्रस सोसाइटी ६१ औँ वर्षमा पुगेको छ । यहाँसम्म आइपुग्दा संस्थामा ११ लाख भन्दा बढी सदस्य र ९० हजार भन्दा बढी स्वयंसेवक छन् । संस्थाले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेर सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.