एनआरएनएले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैर आवासीय नेपाली सङ्घले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नेपाली समयअनुसार आइतबार राती बसेको सङ्घको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण  विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता सङ्कलन गर्न निर्देशन दिएको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा  आर्थिक सहयोग सङ्कलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गर्नुभयो ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सह कोषाध्यक्ष कृष्ण तिम्सिनाको संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग सङ्कलनका लागि आज साँझ आपतकालिन बैठक आवहान गरिएको छ। यसैबिच बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.