बिपी राजमार्गको दर्जनौं स्थानमा सडक भत्केर आवातजावत टुटेपछि हजारौं यात्रु सास्तिमा
काभ्रे- असोज १४ अविरल वर्षाका कारण विभिन्न ठाउँमा गएको बाढी र पहिरोका कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक भत्केर आवात जावत टुटेपछि हजारौं यात्रुहरुले सास्ति खेप्नु परेको छ ।
सो सडकखण्डको ठाउँ-ठाउँमा भत्केर आवतजावत गर्न समेत कठिन भएपछि सवारी साधनमा अलपत्र परेका यात्रुहरुको समयमा उद्धार नहुँदा हजारौं यात्रुहरु आफ्नै तरिकाले गन्तब्य पहिल्याए हिंडेका छन् ।
आईतवारबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्दै आएको भएपनि हजारौंको संख्यामा रहेकाले सबैको उद्धार सम्भव छिट्टै हुने देखिदैन ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख विकास तामाङले अविरल वर्षाका कारण जिल्लाका विभन्नि स्थानको सडकको अवस्था टुटेको बताउनुभयो । सडक मात्रै नभएर सञ्चार सम्पर्कसमेत टुटेको अवस्था रहेकाले कतिपय अवस्थामा फसेका गाडीका चालकहरुसंग सम्पर्क समन्वय गर्न गाह्रो भएको बताउनुभयो ।
आईतवबारबाट भने स्थानीय तह र सडक विभागसंग समन्य गरेर ५-७ वटा जेसिभि प्रयोग गरेर धुलिखेलहूँदै भकुण्डेसम्म भएपनि खुलाउने क्रममा रहेको उहाँले बताउनुभयो ।
विभिन्न स्थानमा भएको बाढी पहिरोको घटनामा परी ५२ जना घाईतेको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । जसमध्ये एक जनालाई आईसियूमा राखेर उपचार भईरहेको र अरु मध्यम र सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
सो क्षेत्रमा अलपत्र परेकाहरुमध्ये धेरैजसो आफै भिर र पाखाको बाटो हिडेर काठमाडौंतर्फ आउने क्रम जारी रहेको छ । बाढी पहिरोमा परी मुत्यू हुनेको संख्या ५९ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्