विपद्बाट धेरै क्षति हुन नदिन पूर्व तयारीलाई जोड दिनुपर्छ: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद्बाट धेरै क्षति हुन नदिन पूर्व तयारलाई जोड दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले विपद्बाट ज्यान गुमाएकाहरूको दुःखमा सरकारले शोक घोषणा गरेको बताउँदै देशलाई ठुलो जनधनको क्षति भएको बताउनु भयो । उहाँले सवा २१५ जना भन्दा बढी हालैको विपद्जन्य घटनाहरूबाट नेपालीहरूले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले विपद् खबर गरेर नआउने भन्दै पहिलैबाट पूर्व तयारी गर्नुपर्ने बताउनु भयो । पूर्व तयारी राम्रो भए क्षति कम गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले नै शोक घोषणा गरेको छ । एकदमै ठुलो क्षति देशलाई भएको छ । सवा दुई सय भन्दा बढीको सङ्ख्यामा नेपालीहरूको ज्यान गएको स्थिति छ । कयौँ घाइते हुनुहुन्छ । कति बेपत्ता हुनुहुन्छ । धेरै जनधनको क्षति भएको स्थिति छ । यस्तो बेलामा हामीले यसलाई आपत्कालीन समयमा छलफल गर्नुपर्ने मात्रै होइन, निर्णय गरेर काम गर्नुपर्ने विषय भएकाले यसलाई हामीले औपचारिक होइन, अनौपचारिक ढङ्गले छलफल गरेर यसलाई टुङ्ग्याउने कोसिस गरिरहेका छौँ । विपद् खबर गरेर आउँदैन, यति बेला, यति समयमा, यसरी आउँछ भन्ने कुरा थाहा हुँदैन । अब यो भइसकेपछि यसको तयारी गरेर यो सङ्कट मोचन गर्छु भनेर मिल्दैन । केही क्षति भइसक्छ र धेरै क्षति हुन नदिन पहिलादेखि नै तयारी गरेको हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले अहिले सङ्घीयताको अभ्यासका क्रममा रहेको भन्दै तीन तहकै सरकारबिच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशमा पनि राम्रा र ठुला अस्पतालहरू रहेको भन्दै तीन तहका सरकारको समन्वयबाट विपद् प्रभावितहरूको उपचारलाई प्रभावकारी बनाउन सकिने बताउनु भयो । राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरूको बारेमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । केन्द्र, प्रदेश र स्थानीय तहले विपद्मा परेकाहरूको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु  नै राज्यको अहिलेको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सङ्घीयताको अभ्यासमा छौँ । प्रदेश छ, प्रदेशका पनि ठूला ठूला र राम्रा अस्पतालहरू छन् । त्यहाँ पनि विशेषज्ञ चिकित्सकहरू हुनुहुन्छ । त्यस कारण मलाई लाग्छ यो प्रतिबद्धता व्यक्त गर्नुपर्छ की सबै मिलेर विपद्बाट बच्न लाग्नुपर्छ । राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरूको बारेमा ध्यान दिनुपर्छ । केन्द्र, प्रदेश र स्थानीयलाई समेटेर साँच्चिकै विपद्मा मानिस पर्नुभयो भने उहाँको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु नै हाम्रो एक मात्र आजको पछाडिको उद्देश्य हो ।’

उहाँले सबै मिलेर विपद्बाट बच्ने काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.