सुर्खेतमा म्याद नाघेका चाउमिन ,उत्पादन मिति नै परिवर्तन गर्ने उद्योगीको उत्पादन जफत

सुर्खेत –  वीरेन्द्रनगर नगरपालिकाको बजार अनुगमन टोलीले उत्पादन मिति नै एक हप्ता अगाडि राखेर चाउमिन विक्री गर्ने उद्योगको उत्पादन जफत गरेको छ ।

अनुगमन टोलीले आज वीरेन्द्रनगर–९, शिव नगरबाट म्याद नाघेका खाद्य वस्तुको लेबल परिवर्तन गरी कमसल वस्तुलाई झुकाएर उच्च गुणस्तरको भनेर विक्री वितरण गर्ने ‘सुर्खेत फ्रोजन म:म फुड हाउस’ को दुई सय किलो चाउमिन रंगेहात बरामद गरेको हो ।

सुर्खेत फ्रोजन मम फुड हाउसले झुकाएर लुम्बिनी मिष्ठान भण्डारमा विक्री गरेको चाउमिनमा लेवर परिवर्तन गरी विक्री गरेको पाइएपछि अनुगमन टोलीले उद्योगमै पुगेर चेकजाँच गर्दा म्याद नाघेका कमसल गुणस्तरहीन चाउमिन फेला पारेको जनाएको छ ।

उद्योगको अनुगमनका क्रममा विक्री नभएर सडे गलेका चाउमिनलाई उद्योगको अगाडि रोडमै घाममा सुकाएर पुनः प्रयोगमा ल्याउने गरेको पाइएको समेत वीरेन्द्रनगर नगरपालिकाका उद्योग तथा अनुगमन शाखा प्रमुख दिपेन सुवेदीले बताउनु भयो ।

उहाँले उद्योगको अनुगमनका क्रममा सुर्खेत फ्रोजन मम फुड हाउसले म्याद नाघेका कमसल गुणस्तरहीन चाउमिनको उत्पादन मिति नै परिवर्तन गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको पाइएको बताउनुभयो ।

केही मिठाई तथा नास्ता पसलमा सुर्खेत फ्रोजन मम फुड हाउसबाट उत्पादन गरिएका चाउमिनका पोकामा १५ गते नै उत्पादन मिति १६ गते लेखेको पाइएपछि उद्योगमै पुगेर अनुगमन गर्दा चाउमिनको पोकामा उत्पादन मिति १६, १८ र २० गते लेखिका फरक–फरक लटका चाउमिनका पोका फेला परेपछि टोलीले उत्पादन जफत गरेका उहाँको भनाइ छ ।

उहाँले चाउमिनकै पोकामा उत्पादन भएको मितिले ३ दिनसम्म मात्र खान योग्य रहेको लेखिए पनि स्वयम् उद्योगले एक हप्ता अगाडिको मिति राखेर उत्पादन गरिरहेको पाइएपछि कानुन अनुसार आवश्यक कारबाही अगाडि बढाइएको बताउनु भयो । उहाँका अनुसार बजार अनुगमनमा सहभागी विभिन्न नियमनकारी निकायसँग आवश्यक ऐन, कानुनमा टेकेर अदालती कारबाही अघि बढ्छ ।

उद्योगमा रहेका रिलेवलिङमा प्रयोग भएका सामान तथा उपभोग्य म्याद समाप्त भएका बरामद खाद्य वस्तु स्थानीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसँगै र जनप्रतिनिधिहरूको रोहवरमा नष्ट गरिने उहाँको भनाइ छ ।

सरकारले बजारलाई स्वच्छ बनाई गुणस्तरीय वस्तु उत्पादन तथा बिक्री–वितरणमा जोड दिए पनि बजारमा सडे–गलेका खाद्यवस्तुमा फोहोर मैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने देख्दादेख्दै पनि व्यापारीलाई कारबाही नगरी चेतावनी दिने चलनको अन्त्य गर्न राष्ट्रिय उपभोक्ता मञ्चले माग गरेको छ ।

मञ्चका सुर्खेत अध्यक्ष कुमारी भुसालले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने जस्तोसुकै व्यापारी तथा उद्यमी भए पनि हदैसम्मको कारबाही गर्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.