रोशी खोलामा गएको बाढीले बिपी राजमार्ग बगाउँदा जनजीवन कष्टकर – फोटो फिचर

 काभ्रे – अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारी साधन अहिले ठप्प छ ।
राजमार्गको दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पु¥याएको छ भने अधिकांश ठाउँमा भलले पुरिएको अवस्था छ । जसका कारण सुन्दर देखिने बिपी राजमार्ग अचेल सुनसान छ ।
राजमार्ग मात्रै सुनसान छैन, त्यस आसपासका बस्तीहरू समेत सुनसान बनेको छ । बाढी पहिरोले सडक, विद्युतको खम्बा, खानेपानी पाईप लगायतका भौतिक संरचनाहरू ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकहरूलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य उपचारमा समेत समस्या परेको छ ।
रोशी गाउँपालिका वडा नं. ७ थान्सिङवेशीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले रोशीको तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएको बताउनुभयो । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतको समस्यामा छन् । नमोबद्ध नगरपालिका वडा नं. ५ ल्हासकोटका धनकुमार लामाले बाटो टुटेपछि पसलमा भएको सामान समेत सबै रितिसकेको बताउनुभयो ।
दसैँ पर्व नजिकिँदै गर्दा घरमा खाना लाउन समेत समस्या रहेको नागरिकको लागि तत्काल बाटो खुलाएमा सहजता हुने उहाँको भनाई छ । रोशी गाउँपालिका वडा नं. ७ का स्थानीय लोकनाथ गौतमले बाढी पहिरो जानुको कारण खानी तथा क्रसर भएको भन्दै अवैध उद्योगहरूलाई नियमन गर्नुपर्ने बताउनुभयो ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी पहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकोले समुदाय र पालिकाबिचको सम्बन्ध नै छुटेको अवस्था रहेको बताउनुभयो । यस्तो अवस्थाकै बिचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै राहत तथा स्वास्थ्य उपचारमा केन्द्रित भएर काम गरिरहेको उहाँले बताउनुभयो ।
पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडी नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडी बढाएको उहाँले बताउनुभयो ।
बाढी पहिरोका कारण रोशी गाउँपालिका भित्रमा १२ जनाको मुत्यू भएको र ५२ जना घाइते भएर उपचार गरिरहेको जनाएको छ ।
रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्ग अन्तर्गत करिब २५ किलोमिटर सडक खण्डमा दर्जनौँ ठाउँमा बगाएको र कतिपय ठाउँमा पुरिएको छ । जसका कारण करिब ७०० वटा सवारी साधन बीचबाटोमा अलपत्र अवस्थामा रहेको छ ।
त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेको सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.