नेपाल–भारतमैत्री सङ्घद्वारा बल्खु बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
काठमाडौं – नेपाल–भारतमैत्री सङ्घले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री सङ्घले बल्खुका बाढी पीढीहरूका नेपाल चिकित्सक सङ्घमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रह बमोजिम नेपाल–भारतमैत्री सङ्घले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताउनु भयो । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरू लगायत बहुउपयोगि सामग्रीहरू रहेको उहाँले बताउनु भयो । उहाँले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक सङ्घको सम्पूर्ण टिमले आग्रह गरे अनुरूप हामीले राहत सामग्रीहरू खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरू लगायत बहुउपयोगि सामानहरू हस्तान्तरण गरेका छौँ । उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरूको हातमा परोस् । अरूको हातमा नपरोस् ।’
कार्यक्रममा बोल्दै नेपाल चिकित्सक सङ्घको अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउनु भयो । उहाँले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । भोलि या पर्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।’
उहाँले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री सङ्घले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्