परराष्ट्रमन्त्री डा राणा दोहामा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

दोहा – कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहनुभएको छ ।

सो सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ ।

सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गर्नुभयो । त्यसैगरी मन्त्री डा राणासँग संयुक्त अरब इमिरेट्स्का वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

ती भेटहरुमा आपसी हित र चासोका विविध विषयहरुका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो ।

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.