छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन काठमाडौँमा हुने

काठमाडौं – छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन काठमाडौँमा हुने भएको छ ।

त्रिभुवन विश्व विद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन् । शुक्रवार जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ देखि १५ गतेसम्म छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो । ८ सय बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सय भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्ने भएका छन् । मुख्य रूपमा विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्याका अवसर र चुनौतीहरू आदिमा केन्द्रित रहेर कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा  त्रिभुवन विश्व विद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले  बताउनु भयो ।

विश्वभर जनसङ्ख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले  नेपाल जस्ता धेरै देशले  विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्त्वपूर्ण पृष्ठपोषण दिने जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताउनु भयो ।

जनसङ्ख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्त्वपूर्ण अवसर रहेको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले बताएको छ । नेपालको विकासका एजेन्डालाई थप प्रवर्द्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढवा दिने अपेक्षा सम्मेलनले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.