विद्युत् व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत् व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बिचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता ठुलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत् व्यापारका लागि कुरा गरिरहेको बताउनुभएको हो । उहाँले अन्य छिमेकी राष्ट्रहरूले आफैँ विद्युत् उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरूप आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले चीनले विद्युत् किन्ने कुरामा आफू आशावादी रहेको बताउनु भयो । उहाँले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताउनु भयो । मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी पनि अन्ततः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जलविद्युतमा व्यक्ति, संस्था, निजी संस्थाहरू जजसले लगानी गरे पनि २५÷३५ वर्ष पछाडि मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेगावाट विद्युत् उत्पादन गर्नलाई लगानी गर्दै छौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रूपमा नेपाल सरकारको हुने हो । अहिले हामीलाई १० खर्बको चालु खर्च र ५÷७ खर्ब जुटाउन हम्मे हम्मे छ । ऋण छ । विद्युत् उत्पादनका लागि सरकारको सम्पत्ति हो यो । भोलि सबै नेपाली धनी हुने हो र प्रतिव्यक्ति आय बढाउने हो भनेर तल्लो तहको मान्छेसम्म बुझाउने दायित्व पनि हाम्रै हो । बंगलादेशसँगको सम्झौताले अत्यन्त ठुलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौँ । सबै छिमेकीहरूले किन्छन्, उहाँहरू आफैँले पनि उत्पादन गर्नुहुन्छ, फेरि पनि किन्नुहुन्छ । तपाईँहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईँहरूले किन नकिन्दिने भनेर उहाँहरूसँग आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन । म आशावादी प्रकारको मान्छे पनि हो । आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नुपर्ने छ ।’

उहाँले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनी हुने गरी मोडिलाटी बनाउनुपर्ने बताउनु भयो । पैसा नहुनेहरूले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.