बडा दशैको पाँचौ दिन आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिँदै
स्कन्दमाताको पूजा भने भोलि गर्नुपर्ने शास्त्रीय मान्यता
काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।
आज बिहान ६ बजेर १६ मिनेटसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा,आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले बताउनुभयो । हिजो पनि सूर्योदयकालमा चौथी तिथि थियो ।
हिजो दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भएपनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ ।
नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यसवर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ ।
असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरी महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्