धौलागिरी हिमाल आरोहणका क्रममा पाँच जना रुसी पर्वतारोहीको मृत्यु
म्याग्दी- म्याग्दी स्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतारोही मङ्गलवार मृत भेटिएका छन् ।
धौलागिरि हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका रसियाका आरोहीहरूको शव मङ्गलवार सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो ।
रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले पुष्टि गर्नुभएको छ । उहाँका अनुसार हाई क्यापमा बास बसेर त्यहाँ देखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्क विहीन भएका पर्वतारोहीहरूको हेलिकप्टर मार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन ।
घटनास्थलबाट हेलिकप्टर मार्फत शव ल्याउने तयारी भएको डिएसपी श्रेष्ठले बताउनुभयो । हराएका पर्यटक खोज्न हेली एभरेस्टको हेलिकप्टर परिचालन भएको थियो । उनीहरू आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए ।
धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाइमा उनीहरू दुर्घटनामा परेको अनुमान गरिएको छ । आरोही समूहका एक जना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको छ ।
चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । चालु शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्