प्रहरीले चालकलाई सम्झाउँदै दसैको शुभकामना

नवलपुर- नवलपरासी पूर्वमा ट्राफिक प्रहरीले चोक चोकमा चालकलाई रोकेर सम्झाउँदै, बुझाउँदै दशैको शुभकामना दिएर पठाउने अभियान सुरु गरेको छ ।
नारायण घाट–बुटवल सडक खण्ड बनेको स्थानमा अत्यधिक गतिमा सवारी साधन चलाउने क्रम बढेपछि ट्राफिक प्रहरीले राडर गन मार्फत गति जाँच गरेर बढी गतिमा सवारी साधन चलाउनेहरूलाई सम्झाई बुझाइ छोड्ने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो । सुरुवाती चरणमा चालकलाई जानकारी दिने अभियान भएकाले कारबाही भने नगरिएको उहाँको भनाइ छ ।
कावासोतीमा मात्र राडान गन मार्फत गति जाँच गर्ने गरिएको र एक हप्ताको अवधिमा पाँच सयभन्दा बढीलाई सम्झाई बुझाई गरेर छोडिएको उहाँले जानकारी दिनुभयो । प्रहरीले सवारी साधन चलाउँदा आवश्यक कागजात साथैमा बोक्न, मोटरसाइकल चलाउँदा हेलमेट राम्रोसँग बाँध्न, मादक पदार्थ सेवन गरी गाडी नचलाउन, राम्रो बाटो देख्दैमा बढी गतिमा नचलाउन आग्रह गर्दै सवारी चालकलाई शुभकामना दिएर पठाउने गरेको छ । बन्जराका अनुसार हाल जिल्ला भर ६१ जना ट्राफिक प्रहरी खटिएका छन् ।
नारायण घाट–बुटवल सडक खण्डमा प्रतिघण्टा एक सय ५० भन्दा बढी गाडी गुड्ने गरेको प्रहरी निरीक्षक बन्जराले जानकारी दिनुभयो । दसैँ तिहारको बेला भने यो सङ्ख्या थप बढ्ने गरेको छ । अरू बेला ट्रकको सङ्ख्या बढी हुने गरे पनि अहिले भने यात्रुवाहक गाडीको सङ्ख्या बढी हुने गरेको बन्जराले बताउनुभयो ।
बाटो विस्तारको काम नसकिएकाले प्रहरीले सडकमा भएका सिसिटिभीलाई पूर्ण प्रयोगमा ल्याउन नसकेको जनाएको छ । अहिले अन्य ठाउँका सिसिटिभी झिकेर गैँडाकोट र दुम्किबासमा मात्र प्रयोगमा रहेको प्रहरी निरीक्षक बन्जराले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्