नवलपरासीमा रगत अभाव, रक्तदान गर्न आह्वान

 

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीमा रगत अभाव भएको छ। जसका कारण बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ। रगत खोज्न आउनेहरूलाई रगत अभावका कारण फर्काउनुपर्ने अवस्था सृजना भएको रक्तसञ्चार केन्द्र परासीका संयोजक सुरज केसीले बताउनुभयो। गर्मि मौसम र चाडपर्वका बेला पनि भएकाले रक्तदान गर्नेको सङ्ख्या अत्यन्तै न्यून रहेको र नियमित रक्तदाताले समेत रक्तदान गर्न इच्छा नदेखाएपछि अहिले रगतको अभाव भएको छ। मौसम परिवर्तन हुने क्रममा रहेकाले बिरामीको चाप बढेको र रक्तदानका कार्यक्रम नभएका कारण बिरामीलाई रगत उपलब्ध गराउन हम्मे हम्मे परेको रक्तसञ्चार केन्द्रले जनाएको छ।

नवलपरासीमा दैनिक १० पोकासम्म रगतको माग छ। तत्कालै विभिन्न सरोकारवाला निकायबाट रक्तदानका कार्यक्रम आयोजना गरी रगतको स्टक नबढाए स्थिति गम्भीर हुन सक्ने केसीले बताउनुभयो । उहाँले सबै पक्षलाई रक्तदान गर्न पनि आह्वान गर्नुभएको छ। बुटवल भैरहवा बाट समेत रगतको माग हुने गरेका कारण रगत व्यवस्थापनमा समस्या परेको छ। जिल्लाको दक्षिणी भेगमा रक्तदानका कार्यक्रम खासै हुँदैनन्। जनचेतनाको अभावका कारण रक्तदान गर्न मानिसहरुले इच्छा नदेखाउने भएकाले समस्या हुने गरेको छ। रक्तसञ्चार केन्द्रले दुर्लभ रक्त समूहको रगतको लागी उदाहरणे निश्चित व्यक्तिहरूलाई नियमित सम्पर्कमा राख्ने गरेको छ। रगतको अभाव भएपछि जिल्ला प्रहरी, रेडक्रस सोसाइटी लगायतको सक्रियतामा रक्तदानको कार्यक्रमको बुधवार आयोजना गरिएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.