सडकमै त्रिपालले गाडी छोपेर दसैँ मनाउन हिँडे चालक

सिन्धुली –  दश दिन देखि गाडीसँगै बसेका चालकको उद्धार नभएपछि दसैँ मनाउन गाडी माया मारेर चालक घर तर्फ हिँडेका छन् ।

काभ्रे जिल्लाको मंगलटार नजिकै रहेको कालढुङगामा गाडी रुघेर दश दिन देखि बसेका चालकहरू आफूहरूको गाडी उद्धारका लागि कसैले पहल नगरेको भन्दै गाडी माया मारेर दसैँ मनाउन हिँड्दै गरेको अवस्थामा बिपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका १ नेपाल थोक नजिकै भेटिदा असिनपसिन थिए ।

झन्डै सात घण्टा हिँडेर त्यहाँ आइपुगेको झापा दमकका इन्द्र खड्काको भनाई छ । झन्डै दुई साता सम्म गाडी कुरेर बस्यौ तर गाडीको उद्धार भएन, त्यसैले गाडी माया मारेर हामी दसैँ मनाउन हिँडेका हौ, माइक्रो बस चालक खड्काले भन्नुभयो, दश दिनसम्म बस्दा पानी पनि राम्रो खान पाएनौ, खोलाको धमिलो पानी खाएर सबै बिरामी परेका छौ । गत असोजको ११ र १२ गते आएको अविरल बषासँगै बाढी र पहिरोले बिपी राजमार्ग क्षतविक्षत भएपछि गाडीहरू अगाडी बढ्न सकेनन् ।

राजमार्गको ठाँउ ठाँउमा भत्किएपछि बिपी राजमार्गमै फसेका पूर्वका विभिन्न जिल्लाबाट काठमाडौँ आवतजावत गर्ने जम्बो हायस गाडीका चालक गाडी छाडेर हिँडेका छन् ।

कालढुङगाबाट बिपी राजमार्ग हुँदै सिन्धुलीतर्फ हिँडेर आउँदै गरेका चालकहरू सिन्धुली र काभ्रेको सिमानामा पर्ने बालुवा भन्ने स्थानमा असिनपसिन भएर थकान मेट्न बसेका थिए । दश दिन देखि फसेका गाडी र गाडीका चालकलाई उद्धार नभएपछि गाडी छाडेर हिँडेको उनीहरू बत्ताउँछन् । दश दिनसम्म बाटोमै अलपत्र पर्दा आफूहरूले निकै दुख पाएको गाडीका चालकहरू को भनाई छ । एक बोतल पानीको सय र सादा खानाको चार सय सम्म तिरेर खानुपर्ने बाध्यता आएको उनीहरूको गुनासो छ । गाडी छाडेर भिर पहराको बाटो भएर बिपी राजमार्गको नेपाल थोक चालकहरू पुगेका थिए ।

दशैको समयमा व्यवसाय राम्रो हुने सिजनमै गाडी थन्किएपछि व्यवसायीहरु चिन्तित छन् । दुई दिनको बर्षाले बिपी राजमार्गमा अकल्पनीय क्षति गरेको र त्यो क्षतिको मर्कामा आफूहरू परेको गाडी व्यवसायी शिवराम खड्का बत्ताउँछन् ।

सरकारले चाहेको भए वर्षा नियन्त्रण भएसँगै हाम्रो गाडी निकाल्न सहयोग गर्न सक्थ्यो, राज्यको मेसिनहरू लगाएर सेना परिचालन गरेर भए पनि बाटो बनाउन सक्यौ, तर त्यस्तो भएन उहाँले भन्नुभयो ।

सिन्धुलीको नेपाल थोक, देवस्थान, बालुवा लगायतका क्षेत्रमा बिपी राजमार्ग पूर्ण रूपमा क्षति भएको थियो यस क्षेत्रमा अस्थायी सडक निर्माण भएसँगै फसेका गाडी निस्किएका छन् । तर काभ्रेको मंगलटार कालढुङगा क्षेत्रमा ६ सय बढी गाडी फसेको र ठुला केही गाडीहरू रोशीको भेलबाटै उत्रिएको भए पनि हायस गाडीहरू उत्रन सक्ने अवस्था भएकाले गाडी छाडेरै हिँडेको उनीहरू बत्ताउँछन् ।

गाडी छाडेर आएका चालकलाई गाडीको सुरक्षाको चिन्ता छ । गाडी सुरक्षाको जिम्मा प्रहरीलाई लिनुस् भन्दा पनि नमानेपछि आफूहरू गाडीलाई त्रिपालले छोपेर दसैँ मनाउन हिँड्न बाध्य भएको चालकहरूको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.