कामनपाले गौशाला धर्मशालामा राख्यो महानगरको बोर्ड, मारवाडी समुदायको प्रतिवाद

काठमाडौँ- काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ ।

बुधवार महानगरपालिकाका नगरप्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो । मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ । धर्मशाला बाहिर भने मारवाडीहरुले नाराजुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो ।

त्यसअघिको पत्रकार सम्मेलनका क्रममा बोल्दै मारवाडी सेवा समिति नेपालका अध्यक्ष रमेश ताडिन्याले महानगरले धर्मशालामा कुनै गतिविधि गर्न नहुनेप्रति सचेत गराउनुभएको थियो । उहाँले अदालतमा मुद्दाको पूर्णपाठ नआएको र अहिले अदालत विदामा रहेकाले पूर्ण पाठ आइसकेपछि पुरावेदन गर्न पाउने अधिकार दिनुपर्ने माग गर्नुभयो ।नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।

यसै बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले आफूहरूलाई  असहयोग गरेको आरोप लगाउनु भएको छ ।

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हडपेको थियो । तर त्यो हटाउने बारेमा अदालतमा मुद्दा पर्छ । अदालतले फैसला गर्दै त्यो जग्गा पशुपति विकाश कोषलाई नै जिम्मा दिन्छ । अनि पशुपति विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न महानगरलाई दिन्छ । आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ । अब बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् । हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ । मेयर शाहले फेसबुकमा लेख्‍नु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.