हराउन थाल्यो रातो माटो र सेतो कमेरोले घर पोत्ने चलन

म्याग्दी– वर्ष दिनमा एक पटक घुम्दै फिर्दै आउने दसैँमा घर पोत्ने चलन निकै पुरानो हो । दसैँमा वन पाखामा पाइने रातो माटो र सेतो कमेरो खनेर घर रङ्गाउने गरिन्छ । नेपालीहरूको मुख्य चाड घटस्थापना सुरु भएपछि नेपाली समुदायले पनि आ–आफ्नो घर पोत्न सुरु गरिहाल्छन् ।

घरका भित्ताहरूलाई रातो माटो र सेतो कमेरोले पोत्ने तथा झ्याल ढोकामा वनमा पाइने कालटिकी (कालो पदार्थ) लगाएपछि बल्ल दसैँ आए जस्तो हुन्छ । साथै गाउँघरमा हालिने लिङ्गे र रोटे पिङ तथा दसैँमा गाइने मालश्री अनि पञ्चेबाजाले दसैँको रौनक थपिदिन्छ । नेपाली समाजमा मनाइने दसैँ अरू चाडपर्वहरूको तुलनामा महत्त्वपूर्ण रहेकाले दसैँमा मीठो खाने र राम्रो कपडा लगाउने पुरानो चलन अझै छ ।

दसैँको बेला घरघरमा रातो र सेतो माटो अर्थात् कमेरो पोत्नुका साथै आँगन र वरिपरि सरसफाइ गरिन्छ । घरका भित्ताहरूमा तल र माथि गरेर पोतिएको रातो र सेतो माटो अनि झ्याल ढोका तथा कठबारमा लगाइने रङले घर चिटिक्क देखिन्छ । तर पछिल्लो समयमा भने रातो माटो र सेतो कमेरोले घर पोत्ने चलन म्याग्दीका गाउँ गाउँमा पनि हराउन थालेको छ । युवापुस्ता सहर, बजार तथा रोजगारीका लागि बिदेसिने क्रम बढेसँगै गाउँघरमा पनि वन पाखामा पुगेर रातो माटो र सेतो माटो ल्याउने र घर पोत्ने क्रम बिस्तारै घट्दै गएको छ ।
म्याग्दीको गाउँ गाउँमा समेत अचेल बजारमा पाइने चुना, गेरु र इनामेलको प्रयोग बढ्दो छ । गाउँघरमा परम्परागत रूपमा रातो माटो र सेतो कमेरोलाई अम्लिसोको कुचोले घर पोत्ने चलनलाई पछिल्लो केही वर्षदेखि उद्योगहरूमा निर्मित चुना र गेरुले विस्थापित गर्न थालेको छ । अचेल गाउँमा रातो माटो र सेतो कमेरोको सट्टा चुना, गेरु र इनामेल लगाउने गरिन्छ । वन पाखामा पाइने रातो माटो र सेतो कमेरो तथा कालटिकीले घर पोत्ने र झ्याल ढोकामा रङ लगाउने चलन अब धेरै पुरानो भइसक्यो । उद्योगहरूबाट उत्पादित चुना, गेरु र इनामेलको सहज उपलब्धतासँगै घर पोत्न पनि सजिलो हुने भएकाले उद्योगका उत्पादनहरूको प्रयोग बढेको हो ।

अहिले गाउँका वनपाखाहरुमा सजिलै पाइने रातो र सेतो माटो खन्नुको सट्टा सहर, बजारका हार्डवेयर पसलहरूमा चुना, गेरु र इनामेल किन्ने ग्राहकहरूको भीड देखिन्छ । घरका भित्ताहरूमा रातो र सेता माटोसँगै झ्यालढोकाहरुमा अगेनाको कालो मेसो र टर्च लाइटको ब्याट्रीमा भएको कालो पदार्थ तोरीको तेलमा मिसाएर लगाउने गरिन्थ्यो । तर अहिले यी सबै चलन लोप हुने अवस्थामा पुगेका छन् । म्याग्दीको रत्ने चौर र अवेचौरमा रातो माटो खन्न पाइन्थ्यो । रातो माटो पाइने भएकाले रत्ने चौर नाम रहन गएको भन्ने पनि छ । तर अहिले रत्ने चौर पुगेर रातो माटो खन्ने चलन पनि हराइसक्यो । उपभोक्ताहरू भने सहर, बजारमा पाइने गेरु र चुनाको पछि लागेका छन् । सहज उपलब्धता, प्रयोग गर्न सहज र राम्रो देखिने भएकाले बजारका उत्पादनमा रुचि बढेको हो ।

वनपाखाको कमेरोले घर छेप्नुभन्दा बजारमा पाइने चुना र गेरु लगेर घर छेप्दा सजिलो, छिटो र राम्रो हुने भएकाले गाउँमा पनि चुना तथा गेरुको प्रयोग बढेको बेनी नगरपालिका–५, चिप्लेटीकी सरस्वती कार्कीले बताउनुभयो । रत्नेचौर र अवेचौरको रातो माटो तथा पुलाडाँडा नजिकै पाइने सेतो कमेरोलाई अहिले बजारको चुना, गेरु र इनामेलले विस्थापन गर्न थालेको स्थानीयवासी बताउँछन् । ग्रामीण भेगमा सडकको पहुँच विस्तारसँगै आरसिसी ढलानसहितका घरहरू बनेपछि चुना र गेरु तथा रङको खपत बढ्दो देखिन्छ ।

कार्की, घर्ती र खड्कालगायत थरका क्षत्री समुदायले सेतो कमेरो तथा चुना वा प्राइमरले घर नपोत्ने हुँदा उनीहरूले रातो र पहेँलो माटो तथा बजारमा पाइने गेरु लगाउँछन् । अन्य समुदायले भने रातो र सेतो दुई वटै प्रयोग गर्दछन् भने जिल्लाको लेकाली बस्तीमा सेतो कमेरोले मात्रै घर पोत्ने गरिन्छ । वन पाखामा माटो खन्ने ठाउँलाई मटकिलो भनिन्छ । कारखानाको उत्पादनले आजभोलि गृहिणी र मटकिलोको सम्बन्ध विच्छेद भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.