आज पनि टीका लगाउन जाने-आउने क्रम जारी, सडकमा चहलपहल बढ्दै

काठमाडौँ- विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर स-परिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका तथा जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ ।

यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम नागरिक काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा चहलपहल बढी देखिएको हो ।

विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले चहलपहल बढी देखिन्छ ।

राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन कठिन नभएको मान्यजन कहाँ आशीर्वाद लिन हिँडेकाहरूले बताए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.