बाढीपछि खण्डहर बनेको छ बेथानचोक (फोटो फिचर)

काभ्रे- असोजको दोस्रो सातामा पानी सहित आएको बाढी र पहिरोले काभ्रेको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकामा पनि धेरै जनधनको क्षति भएको छ । जहाँ १२ जनाको मृत्यु भएको र १ जना बेपत्ता भएको छ । बाढी र पहिरोबाट पालिका भर करिब ६ सय घर परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोबाट प्रभावितहरू भने सुरक्षित बासस्थानको पर्खाइमा रहेका छन् । बाढी र पहिरोले घरबार विहीन भएपछि बासस्थान निर्माणका लागि सुरक्षित स्थान नभएपछि स्थानीय अहिले अन्यौलमा छन् ।

त्यस्तै, कृषि उपज नै आम्दानीको प्रमुख श्रोत भएको सो स्थानका स्थानीयको अहिले आम्दानीको श्रोत बाढी र पहिरोका कारण गुमेको स्थानीय बताउँछन् ।

गाउँपालिकामा बाढी र पहिरोले अर्बौंको क्षति भएको बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार, यहाँ अहिले बाटो, बिजुली, सञ्चार लगायतका पूर्वाधारका सेवामा अवरुद्ध भएको छ । उहाँका अनुसार, बेथानचोक गाउँ पालिकाभित्र विभिन्न स्थानमा रहेका भौतिक संरचना पनि ठूलो क्षति भएको छ ।

पालिकाको आफ्नो भवनमा बाढीका कारण ठूलो नोक्सानी भएको प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयो ।

पालिकाको प्रशासनिक भवनको कार्यालयमा बाढी पसेकाले कार्यालयमा भएका महत्वपूर्ण कागजातहरू बिग्रिएकाले यसबाट पनि धेरै क्षति भएको उहाँले बताउनुभयो ।

बेथानचोक गाउँपालिकाको वडा नं ४, वडा नं २, वडा नं ३ र वडा नं ५ मा धेरै क्षति भएको छ ।

बाढी र पहिरोका कारण पालिकामा एक साता बिजुली, सडकबाटो, सञ्चार, खानेपानी लगायतका अत्यावश्यक सेवाहरू अवरुद्ध भएको थियो ।

अहिले पालिकाको सबै वडाहरूमा सडक सञ्जाल जोडिसकेको, सञ्चार सेवा प्रवाह गरिएको, र नेपाल विद्युत प्राधिकरण, पालिकाको सहकार्यमा पालिकाको सबै वडामा विद्युत जडानको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.