सुन्दरताले भरिएको मुलकोट बाढीको वितण्डाले कुरूप

सिन्धुली – बिपी राजमार्ग निर्माण पश्चात् छोटो समयमै सुन्दर चम्किएको थियो मुलकोट । सुनकोसी नदीको किनारमा रहेको मुलकोट बजार छिट्टै पर्यटकीय क्षेत्रको रूपमा स्थापित थियो । बिपी राजमार्गको सुन्दरता हेर्न र मनोरम दृश्यसँगै सिन्धुली हुँदै तराई सहित पूर्वका विभिन्न जिल्ला बाट काठमाडौँ आवतजावत गर्न प्रयोग हुने बिपी राजमार्गको मुलकोट होटेल हबसँगै पर्यटकीय क्षेत्रको रूपमा स्थापित हुँदै गरेको बजार थियो । गत असोज ११ र १२ गते परेको अविरल बर्षाँसँगै सुनकोसीमा आएको बाढीले मुलकोटलाई क्षणभरमै कुरूप बनाइदिएको छ ।

नागबेली सडक बिपी राजमार्गसँगको एउटा पर्यटकीय गन्तव्य थियो मुलकोट बजार । काठमाण्डौँबाट झन्डै ९० किलोमिटर दुरीमा पर्ने मुलकोट बजार पर्यटकको रोजाइमा परेको बजार हो । राजमार्गको  भित्तामा राखिएको हजारौँ ऐनाले परिचित सेतीदेवी मन्दिर भन्दा तल सुनकोसी किनारमा देखिने सुन्दर बस्ती थियो मुलकोट ।

पर्यटकीय हब बन्दै गएको मुलकोट बाढीको वितण्डासँगै कुरूप अवस्थामा पुगेको हो । विशेष गरि सोलुखुम्बु र सगरमाथा जाने आन्तरिक तथा बाह्रय पर्यटकले भरिभराउ हुने मुलकोट बजार गत असोज ११ र १२ गते सुनकोसीमा आएको बाढीको वितण्डासँगै मुलकोटको सुन्दरता पुरिएको छ । मुलकोट बजारलाई बाढीसँगै आएको बालुवा र लेदोले पुरेपछि पुरानै अवस्थामा फर्काउन घर भित्र पसेको माटो निकाल्ने तथा पुरिएका घरहरू खोल्ने काममा स्थानीय जुटेका छन् ।

सुनकोसी किनारको समथर भू–भागमा करोडौँ लगानीका होटेल, रिसोर्ट र बजारले पर्यटकलाई आकर्षित गरेको थियो ।

गर्मिको मौसममा सुनकोसीमा  र्‍याफ्टिङको मज्जा लिन आन्तरिक तथा बाह्रय पर्यटक मुलकोट आउने र ती पर्यटकले मुलकोट बजारमा केही दिन बस्दा त्यहाँका होटेल भरिभराउ हुने गरेको थियो । यसरी आउने पर्यटकले मुलकोटका पचास भन्दा बढी होटेल रिर्सोट भरिभराउ हुन्थ्यो । दैनिक राजमार्गमा गुड्ने सवारीका लागि पनि मुलकोट खान बस्नको रोजाइमै परेको ठाउँ हो ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित मुलकोट पछिल्लो समय पर्यटकीय हबकै  रूपमा विकसित हुँदै गरेको बजार हो । बिपी राजमार्ग खुलेसँगै होटेल हबको रूपमा छोटो समयमै स्थापित भएको मुलकोटलाई बाढीले तहसनहस बनाएको मुलकोट स्थित ताज रिर्सोटका सञ्चालक मनोज श्रेष्ठ बताउनु हुन्छ ।

मुलकोटमा करोडौँ लगानीका ठुला होटेल खुल्ने क्रम बढेको थियो, उहाँले भन्नुभयो, ताज क्वालिटीबिच रिर्सोट पौवा रिर्सोट जस्ता ठुला सुविधा सम्पन्न रिर्सोट खुलेका थिए । क्वालिटी बिच रिर्सोट र पौवा रिर्सोट तत्काल सञ्चालनमा आउन नसक्ने गरी पुरिएको र ती रिर्सोटलाई सञ्चालन गर्न केही महिना लाग्ने देखिएको श्रेष्ठको भनाई छ । ताज रिर्सोटमा क्षति कम भएकाले सञ्चालनमा ल्याइएको व्यवसायीहरू बताउँछन् ।

मुलकोटमा सुनकोसीको बाढीले ठुला रिर्सोट सहित पचास भन्दा बढी होटेल रेस्टुरेन्टलाई क्षति गरेको छ ।

मुलकोट बजार पुरानै अवस्थामा ल्याउन बिपी राजमार्ग समेत पुरानै अवस्थामा आउनुपर्नेछ । बिपी राजमार्गको नेपाल थोक देखि भकुन्डेसम्म ठाँउ ठाँउमा भत्किएर डाइभर्सन गरी रोशी खोलाको बाटो भएर सवारी सञ्चालन भएका छन् ।

काठमाण्डौँबाट बिपी राजमार्गको नागवेली सडक हुँदै तराईका विभिन्न जिल्ला आवतजावत गर्ने छोटो दुरीको बिपी राजमार्गको बिचमा पर्ने मुलकोट छोटो समयमै चम्किएको थियो ।

मुलकोटलाई जतिसक्दो छिटै पुरानै अवस्थामा फर्कनुको विकल्प नभएको जनप्रतिनिधिहरूको भनाइ छ । मुलकोटलाई सुनकोसीले कटान नभएर डुबानमा पारेकाले बिपी राजमार्ग सञ्चालनमा आए मुलकोट पुरानै अवस्थामा केही महिनामै फर्काउन सकिने सुनकोसी गाउँपालिका सिन्धुलीका उपाध्यक्ष कपिल कोइराला बताउनु हुन्छ ।  मुलकोट पुरानै अवस्थामा फर्किन्छ, भत्किएको बिपी राजमार्गलाई पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काएसँगै व्यवसायीहरूले मुलकोट बजारलाई पुनर्स्थापना गर्नेछन्, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.