नेपाल टेलिभिजनले सुरु गर्‍यो नेपाल भाषामा समाचार

काठमाडौँ- सरकारी सञ्चार माध्यमले पछिल्लो समय समाजको विविधतालाई, संस्कृति र भाषालाई सरंक्षण गरी जीवन्त राख्न पछिल्लो समय विभिन्न भाषामा समाचार तथा सामग्रीहरु प्रकाशन प्रसारणलाई प्रथमिकता दिदै आएको छ ।

यसै बीच नेपाल टेलिभिजनले नेपाल भाषामा, रेडियो नेपाललले दनुवार भाषामा र राससले मैथिली तथा नेपाल भाषामा समाचार प्रकाशण प्रसारण सुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो ।मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले स्रोतसाधनको अभावका बाबजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधैँ तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवद्र्धन गर्न नेपाल टेलिभिजन सधैँ तयार रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवद्र्धन गर्न गत वर्षदेखि नै भाषभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो ठूलो भाषा ‘नेपाल भाषा’ आजदेखि प्रारम्भ गरेको बताउनुभयो ।

नेपाल टेलिभिजनबाट आज अपराह्न ४:३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ ।
नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसङ्ख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ । यसैबीच रेडियो नेपालले पनि आजदेखि दनुवार भाषाको समाचार प्रशारण सुरु गरेको छ ।

कार्यक्रमको उदघाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोडदिनु भयो ।उहाँले विभिन्न भाषिक कार्यक्रमले रेडियोप्रति अपनत्वबोध गराउने विश्वास व्यक्त गर्नुभयो ।

रेडिय नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भाषा संरक्षणको अभियान रेडियो नेपालले राम्रो गरिरहेको उहाँले चर्चा गर्नुभयो । हाल सरकारी संचारमाध्यमहरुमा गोरखापत्रले ४४ भाषाको पृष्ठ प्रकाशन गरिरहेकोछ ।

नेपाल टेलिभिजनले ७ भाषाको समाचार बुलेटिन र १४ कार्यक्रम प्रशारण गरिरहेको छ भने राससले पनि पछिल्लो समय नेवारी र मैथिली भाषाको बुलेटिन सुरु गरेको उहाँले बताउनुभयो ।

सरकारी सञ्चार माध्यमले सुरु गरेको भाषिक कार्यक्रमले सबै समुदायलाई सरकारी सञ्चारमाध्यमप्रति आत्मबोध गराउने सरकारको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.