मुस्ताङ–तिब्बत कोरला नाकामा टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज

म्याग्दी– मुस्ताङ र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रूपमा सूचना आदानप्रदान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था, पर्यटकलाई परेको समस्या र उद्धार तथा समन्वय गर्न समस्या भइरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनपश्चात् सीमा नाकामा सुरक्षाको जानकारी लिन, पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, तथ्याङ्क सङ्कलनको साथै आवश्यक समन्वय गर्न सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिनुभयो ।

सीमा नाकामा टेलिकमको टावर निर्माणसँगै कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकहरू, सामान खरिद–बिक्री गर्ने व्यापारी र स्थानीय तथा सर्वसाधारणहरू लाभान्वित बनेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेर स्थित कोरला नाकामा यही असोजको दोस्रो सातादेखि टेलिकमको टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाको भौतिक सहयोगमा टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ ।

समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्तेको वाइफाईबाट कुराकानी गर्न सकिन्छ । टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.