रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै– युक्रेन

ब्रसेल्स-  युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताउनुभएको छ ।

उहाँले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाउनुभएको थियो तर उहाँले दिनुभएको यति ठूलो सङ्ख्या यो पहिलो पटक हो ।

जेलेन्स्कीले ‘हाम्रो खुफिया निकायबाट प्राप्त जानकारी’ का आधारमा अनिर्दिष्ट सङ्ख्यामा उत्तर कोरियाली सैनिक यसअघि नै ‘रुसी शत्रुहरूको तर्फबाट कब्जा गरिएको युक्रेनी भूमिमा’ थिए भन्नुभयो ।

“उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ”, उहाँले युरोपेली सङ्घ ९इयु० का नेताहरूसँगको वार्तापछि ब्रसेल्समा पत्रकारहरूलाई भन्नुभयो ।

जेलेन्स्की रुस विरुद्धको युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन माग्दै ब्रसेल्समा इयुका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी हुनुभएको थियो ।

उहाँका अनुसार उत्तर कोरियाली सैनिकहरूमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन् ।

“यो विश्वयुद्धको पहिलो कदम हो”, इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्रहरू’ सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले चेतावनी दिनुभयो । उक्त दाबीलाई तेहरानले बारम्बार अस्वीकार गर्दै आएको छ ।

परिचालनसँग डराउने भएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली सैनिकहरूमा भर परिरहनुभएको उहाँले बताउनुभयो ।

जेलेन्स्कीले आफ्नो पहलको प्रचार गर्न यसै महिनाको प्रारम्भमा वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनसहित पश्चिमी राजधानीहरूको तीव्र दौडाहा गर्नुभएको थियो ।

रुसी सेनाले युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्रहरू तैनाथ गरिरहेको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् तर मस्को र प्योङयाङले अस्वीकार गरेका छन् ।

पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्दा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

मस्को र प्योङयाङ दोस्रो विश्वयुद्धपछि उत्तर कोरियाको स्थापनादेखि नै सहयोगी रहेका छन् र सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अझ नजिक भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.