रास्वपा सभापति रवि लामिछाने पक्राउ
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु भएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई आज साँझ पार्टी कार्यालय बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो ।
उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।
आफूलाई आगामी दिनमा चुनाव लड्न नदिने र आफ्नो पार्टी रास्वपालाई पनि फुटाउने नियतका साथ आफूमाथि पूर्वाग्रह साँधिएको सभापति लामिछानेको जिकिर थियो ।
उहाँले आफू निर्दोेष रहेको र अदालतले आफूमाथि न्याय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सभापति लामिछानेले आफूमाथि नेपाली जनताले आशा गरेकाले त्यसलाई पूरा गर्ने आफ्नो अभियानमा साथ दिन पनि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आम नेपाली नागरिकले सबै कुरा देखेका छन्, बुझेका छन् । म यति एउटा कुरा भन्न चाहन्छु–यदि उनीहरुले जस्तै सम्झौता गरेको भए, कुनै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला । हामीले यो अप्ठयारो महशुस गर्नुपर्ने थिएन । तर हामीले कुनैपनि सम्झौता गरेनौ । म सरकारको बाध्यता बुझ्दछु, मलाई थाहा छ । जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो । त्यसै दिन रविलाई जसरी भएपनि हामी जेल कोच्छौंँ भन्ने सम्झौता भएको मलाई सूचना छ । मलाई कुनै चिन्ता छैन । व्यक्तिका रुपमा त झन मलाई कुनै चिन्ता छैन, धेरै चिज पाईसकेको छु । तर अभियानको रुपमा देशले आशा र भरोसा गरेको जुन देखियो, त्यो आशा र भरोसामाथि जुन प्रहार भएको छ । त्यो प्रहारलाई हामी सामना गर्नेछौं । म कुनैपनि किसिमको न्यायिक जाँच दिनका लागि अदालती प्रक्रियालाई सम्मान गर्न चाहन्छु । तर यो राजनीतिक पूर्वाग्रहमा खुलेर लडनका निम्ति पनि अपिल गर्न चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्दछु,विश्वास राख्दछु । भन्न त यहाँ अदालत पनि मिलाउला, तलाई कहाँ छोडौला र । तलाई चुनावनै लडन नसक्ने र तेरो पार्टीलाई नफुटाई नछोड्ने प्रतिशोधका साथ पनि मान्छेहरु लागेका छन् भन्ने मलाई थाहा छ । तर ती सबै कुराहरु सामना गर्ने साहस बोकेर हामी उभिएका छौं । म व्यक्तिका रुपमा तपाईहरुले साथ दिनुहोस् भनेर भन्दिन । तर अभियानका रुपमा नेपाली जनताले देखेको यो सपनालाई पूरा गर्नका लागि साथ दिन अनुरोध गर्न चाहन्छु । र म अन्त्यमा यति मात्रै भन्न चाहन्छु–मैले कुनैपनि किसिमको अपराध गरेको छैन । यो अपराध नगर्दा पनि जुन राज्यले सम्पूर्ण स्रोत लगाएर आफ्नो सम्पूर्ण शक्ति लगाएर यो जुन कार्य गरेको छ । यसलाई नेपाली नागरिकले हेरेका छन भन्ने मैले विश्वास गरेको छु । तर पनि म न्यायिक प्रक्रियामा सघाउने एउटा सचेत नागरिक भएको हुनाले म त्यसमा प्रतिवद्ध भएको जानकारी गराउँदै विदा चाहन्छु । यहाँहरु सबैलाई राज्यले गरेको यो दादागिरीलाई डटेर सामना गर्नका लागि साहस मिलोस भनेर पनि अनुरोध गर्दछु ।’
आज कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । पक्राउ पर्दा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्