अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा (फोटो फिचर)

म्याग्दी-  म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रामा रमाउने पर्यटकको सबैभन्दा धेरै रोजाइमा परेको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

दसैँ तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाइका कारण दैनिक जसो आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको ठुलो भिड बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही बर्ष अगाडीसम्म सुनसान जस्तै रहेको आधार क्षेत्रमा पदमार्ग, बस्ने संरचना सहित हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्च कुण्ड ताल सहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरना सहितका सुन्दर दृश्यका कारण देशका विभिन्न जिल्लाका साथै घर बिदामा विदेशबाट आएका समेत घुम्न जान थालेपछि पदमार्गमा चहलपहल धेरै छ ।

नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकहरूलाई आकर्षित गरेको आधार शिविर पुगेर फर्किनुभएकी बेपना ६ की पूजा बानियाँले बताउनुभयो ।

दसैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरूले यो पदमार्गको भ्रमणलाई प्राथमिकतामा राखेका छन् । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो ।

नारच्याङ गाउँदेखि दुई दिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपालि गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा ६ गुणा बढेको छ । दसैँको दिनदेखि कात्तिक २ गते सम्म करिब ८ सय भन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगेकी गुरुङको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.