रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा- कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत शुक्रबार लामिछानेलाई प्रहरीले च:मतिस्थित पार्टीको  केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो। प्रहरीले आज अनुसन्धानका लागि म्यादथप गर्न अदालतमा उपस्थित गराएको थियो ।

सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रकृयालाई सहयोग गर्ने प्रतिक्रिया दिनुभएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उहाँमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सभापति लामिछानेलाई काठमाडौँमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.