तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम
काठमाडौँ – नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आज बेलुकीबाट उडानमा ल्याइएको उहाँले जानकारी दिनुभयो । “शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट उडानमा आएको छ । आज बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका रहेको छ”, प्रवक्ता पौडेलले भन्नुभयो ।
निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मतसम्भार गर्ने गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । “यसका बाबजुत कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्या आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मतसम्भारपश्चात् नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ । समस्याको प्रकृति र उपलब्ध साधनस्रोतको आधारमा सामान्यतः विमान केही समयभित्र नै मर्मतसम्भार सकेर उडानयोग्य हुन्छ भने कहिलेकाहीँ धेरै समय लाग्नसक्छ”, विज्ञप्तिमा भनिएको छ ।
प्राविधिक कारणले तीनवटा विमानका यात्रु दुईवटा विमानबाट ओसारपसार गर्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्