सङ्घीय निजामती विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ: मन्त्री गुप्ता

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य मन्त्री राजकुमार गुप्ताले संसदमा विचाराधीन सङ्घीय निजामती सेवा विधेयक छिट्टै पारित गर्ने बताउनुभएको छ ।

मङ्गलवार अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो सय दिनको कामको उपलब्धि सार्वजनिक गर्ने क्रममा उहाँले सो आश्वासन दिनुभएको हो । सो ऐनलाई छिट्टै पारित गर्नका लागि राजनीतिक दलका नेतृत्वसँग पुनः छलफललाई तीव्रता दिइएको र सकारात्मक सहयोग पनि पाइएको उल्लेख गर्दै मन्त्री गुप्ताले सो विधेयक छिट्टै ल्याउने आश्वासन दिनुभयो । उहाँले सो विधेयक सांसदका आगामी अधिवेशनमा पारित गर्ने तयारीमा आफू रहेको पनि बताउनु भयो । मन्त्री गुप्ताले सो विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि दोहोर्‍याउनु भयो । सांसदका आगामी अधिवेशनबाट पारित हुने बताउनु भयो । उहाँले संविधान र स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि अर्थ मन्त्रालयमा राय लिने काम सकिएको र कानुन मन्त्रालयका स्वीकृति पाएपछि त्यसलाई पनि अघि बढाउने बताउनु भयो ।

मन्त्री गुप्ताले भन्नुभयो, ‘निजामती ऐन हाम्रो पहिलो प्राथमिकतामा छ । मलाई याद छ–तपाईँहरूले म पदभार ग्रहण गर्न आई रहेका बेला तल भर्‍याङ चढेको छैन निजामती ऐन कहिले आउँछ ? भनेर सोध्नुभएको थियो । त्यो दिन पनि मैले भनेको थिए–हामीले यो प्राथमिकताको विषय हो, हामी चाँडै ल्याउँछौँ । निजामती ऐन ल्याउनका लागि हामीले राजनीतिक दलका उच्च तहमा पनि छलफलहरू अगाडि बढाएका छौँ । सकारात्मक ढङ्गले छलफलहरू अगाडि बढेको छ । र उच्च तहका नेताहरूबाट पनि हामीले सहयोग पाइराखेका छौँ । यो ऐन हामी अत्यन्तै चाँडो ल्याउँछौँ । सङ्घीय निजामती सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक सङ्घीय संसद्मा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात् राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको छ । प्रस्तुत विधेयक आउने अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तीव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक, अनौपचारिक संवादलाई अगाडि बढाइएको छ । स्थानीय तहलाई थप सबल एवं क्रियाशील बनाउने गरी कार्य विस्तृतीकरण प्रतिवेदनमा भएको थप व्याख्या सहितको परिमार्जनको विषय समेटेर स्थानीय सरकार सञ्चालन ऐन, २०४७ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको राय सुझाव प्राप्त गरी संशोधन सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । संशोधनमा अस्पष्ट भएका विषय, वडाको सङ्ख्या, सिमाना र केन्द्र हेरफेर, राजश्व अधिकारको थप स्पष्टता, कार्यपालिका बैठकको कार्यविधि, जिल्ला समन्वय समितिको उपनिर्वाचन, प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षको रिक्ततामा कार्य सम्पादन, स्थानीय तहमा पदाधिकारीको वैदेशिक भ्रमण, स्थानीय तहको व्यवस्थापन परीक्षण, वडा अध्यक्षको रिक्ततामा कार्यवाहक वडाध्यक्ष हुने व्यवस्था मुख्य रूपमा समेटिएको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले जिल्ला समन्वय समितिलाई दिएको भूमिकालाई थप प्रभावकारी बनाउने गरी ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इन्जिनियर) को व्यवस्था गरिएको छ ।’ 

मन्त्री गुप्ताले कर्मचारी सरुवा मापदण्ड लागू गर्ने काममा पनि ढिलाइ नहुने बताउनु भयो । उहाँले सो मापदण्डको मस्यौदा सुझावका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको र त्यसको आउने बित्तिकै लागू गर्ने काम सरकारले गर्ने बताउनु भयो । मन्त्री गुप्ताले आफूले निजामती कर्मचारी अस्पताल क्यान्सर रोगको उपचारको थालनी गरेको, निजामती कर्मचारीहरूको अभिलेख डिजिटलाईज गरिएको, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको ठाउँमा वरिष्ठ कर्मचारीलाई निमित्त दिने व्यवस्था गरेको लगायतका २५ बुँदे कामहरूको पनि वितरण सार्वजनिक गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब सरुवा मापदण्डको बारेमा मैले अघि नै भनिहाले–कानुन मन्त्रालयमा पठाएका छौँ । कानुन मन्त्रालयबाट राय आउन साथ यो पनि हामी तुरुन्तै लागू गर्छौँ । निजामती कर्मचारी अस्पतालबाट क्यान्सर रोग उपचारको थालनी गरिएको छ । राष्ट्रिय कितावखाना निजामतीको सेवालाई थप सहज र प्रभावकारी बनाउने गरी अनलाइन सेवाको विस्तार र पुराना स्रेस्तालाई डिजिटलप्रति बनाइएको छ । निजामती कर्मचारीको विद्युतीय अभिलेख सुरक्षित गर्ने काम भएको छ ।’ 

स्थानीय तहमा वडाको केन्द्र र सिमाना हेरफेर सहज तरिकाले सहजीकरण गर्नका लागि आवश्यक कार्यविधिको पनि मस्यौदा तयार परिएको मन्त्री गुप्ताको सय दिनको मुख्य उपलब्धिको रूपमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.