जाडो याम नजिकिँदै गर्दा बेथाचनोकका बाढी पहिरो पीडितलाई चिन्ता – फोटो फिचर

काभ्रे – केही साता अघि गएको बाढी पहिरोबाट क्षति भएर घरबार विहीन भएकाहरूलाई जाडो याम नजिकिएसँगै कसरी न्यानो वासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्ता बढेको छ ।

काभ्रेको बेथाचनोक गाउँपालिका वडा नं. २ बनेपाली टोलका अधिकांश घरहरू गत असोज १० देखि १२ गते परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोले भत्केपछि अहिले कोही वृद्धाश्रम त कोही नजिकैको आफन्तको घरमा बसेर जीवन गुजारा गरिरहेका छन् । कतिपय त बस्ने वासस्थान सबै बाढी पहिरोले उठाएपछि विस्थापित हुनुपरेको छ । बाढी पहिरो गएको करिब तीन साताभन्दा बढी भइसकेको भए पनि राज्यले छिटो वासस्थानको व्यवस्था नगर्दा जेष्ठ नागरिक र बालबालिकाहरू बढी प्रभावित भएका छन् । एकातिर बस्ने न्यानो ठाउँ नभएको, अर्कोतिर भोक लागेको बेलामा निकालेर खाने अन्नपात नै नभएपछि अधिकांश परिवार बिचल्लीमा परेका छन् ।
बेथानचोक गाउँपालिका वडा नं. २ का कृष्ण बहादुर श्रेष्ठले तत्कालका लागि खाद्यान्न भन्दा पनि बस्ने बासको व्यवस्थापनलाई राज्यले प्राथमिकता दिन आग्रह गर्नुभयो । गाउँको तल तिर खोलाले तानेको र माथिबाट पहिरोले पुरेको कारण आफूहरू त्यस ठाउँमा बस्न उपयुक्त नभएकोले अर्कै उपयुक्त ठाउँमा वासस्थानको व्यवस्थापन गर्नु पर्ने उहाँको भनाई छ । सोही ठाउँका अर्का वृद्धा डल्ली कुमारी श्रेष्ठले घरबार बगाएपछि अहिले भत्केको घरको आगनमा खाना पकाएर खाने र सुत्नका लागि नजिकैको महादेवथानमा गएर बस्ने गरेको बताउनुभयो ।

बाढीले घर र बारी सबै बगाएपछि बस्न उपयुक्त एक टुक्रा जमिन समेत नभएको उहाँले बताउनुभयो । त्यस्तै बेथानचोक गाउँपालिका वडा नं. ३ का पदम बहादुर श्रेष्ठले बस्ने घर र कमाई खाने बारी नहुँदा कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको बताउनुभयो । यसअघिका सुन्दर गाउँबस्ति बाढी र पहिरोले बगाएपछि न त बस्ने घर न त कमाई खाने बारी सबै बगाएर बेथानचोकको अस्तित्व नै समाप्त भएको उहाँले सुनाउनुभयो । सो पालिकाको वडा नं. २ का पूर्व वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले जाडो समय बढ्दै आएको वेलामा ज्येष्ठ नागरिक र बालबालिकाहरूको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पुनर्निर्माणको लागि गाउँपालिकाको श्रोतले मात्रै नपुग्ने भएकाले प्रदेश र सङ्घ सरकारले नै सबै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले पालिका भित्रको चार पाँच ठाउँमा बस्ती नै बस्न नहुने अवस्था रहेकोले त्यसलाई तत्काल व्यवस्थापनको लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले समस्यामा परेका नागरिकको उद्धार र राहत उपलब्ध गराउनेदेखि सडक, विद्युत, सञ्चारको काम सकाएर अब पुरस्थापना र पुर्न बासको काममा केन्द्रित भएर लागिरहेको बताउनुभयो । त्यसको लागि आवश्यक सहयोगका लागि विभिन्न सङ्घ संस्थाहरुसंग समन्वय गरेर जाडो याम अगाडी नै जोखिमयुक्त परिवारहरूको पहिचान गरी पुन बासको व्यवस्था गर्ने बताउनुभयो । अध्यक्ष अधिकारीका अनुसार पालिकाभरमा ४ हजार चार सय घरपरिवार प्रभावित भएको छ । जसमध्ये ७०० घर पूर्ण रूपमा क्षति भएको र ५०० घर आंशिक क्षति भएको छ भने सयै रोपन खेती योग्य जमिन बाढी पहिरोले बगाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.