सुनकोसी नदीमा निर्माण भएको बेलिब्रिजबाट यातायात सुचारु – (फोटो फिचर)

सिन्धुली – सुनकोसी नदीमा निर्माण भएको बेलिब्रिजबाट सवारी सञ्चालन हुन थालेको छ । बाढीले बगाएको १८ दिनमै नेपाली सेनाले बेलिब्रिज निर्माण सम्पन्न गरी भौतिक पूर्वदार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका र रामेछापको मन्थली नगरपालिका जोड्नेगरि सुनकोसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि भौतिक पूर्वदार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेपछि बेलिब्रिजबाट यातायात सुचारु भएको हो ।

गत असोज ११ र १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोट मन्थली सडक खण्ड अन्तर्गतको सुनकोसी नदीमाथिको पक्की पुलको रामेछाप तर्फको स्पान बगाएको थियो ।

पुल बगाएपछि सरकारले तत्कालै बेलिब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिएपछि सेनाको नम्बर १४ बाहिनी अड्डाको पुल महाशाखाले गत असोज २१ गतेबाट बेलिब्रिज निर्माणको काम सुरु गरी १८ दिनमा सम्पन्न गरेको नम्बर १४ बाहिनी अड्डाका प्रमुख सेनानी नारायण तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न पुल नेपाली सेनाले भौतिक पूर्वदार तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरेको थियो भने मन्त्री देवेन्द्र दाहालले सडक विभागलाई बेलिब्रिज हस्तान्तरण गरेसँगै सवारी सञ्चालनमा आएको हो ।

बेलिब्रिज पुलको भारवाहक क्षमता १७ टन माथि भए पनि पुलको रामेछाप तर्फको पिल्लरमा समेत बाढीले क्षति गरेकाले तत्काललाई १५ टनसम्मको सवारी साधन मात्रै आवतजावत गर्न खुल्ला गरिएको सेनाले जनाएको छ ।

प्रमुख सेनानी तुम्बाहाम्फेका अनुसार पुलको बाकी रहेको आधा भाग बेलिब्रिजको सडक विभागले निरन्तर रेखदेख गर्नुपर्ने हुन्छ । २०७१ सालमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका ६ बेतिनी जोड्ने गरी करिब १८ करोड लागतमा निर्माण भएको पुल सुनकोसीमा आएको बाढीले रामेछाप तर्फको करिब ५१ मिटर बगाएको थियो ।

बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको प्राविधिक टिम, सडक विभाग हेटौडाको करिब ८० प्रतिशत बेलिब्रिज जडानको मुख्य सामान उपलब्ध भएको र बाकी केही सामान सडक डिभिजन कार्यालय लहान र बाकी अत्यावश्यक सामान नेपाली सेनाको पुल महाशाखाले उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.