पोखरामा छैन पर्यटकीय चहलपहल

कास्की – पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०/९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०/४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो ।
पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताउनुभयो । सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटन क्षेत्रमा लगानी बढेको तर सोही अनुपातमा विदेशी पर्यटकको आगमन बढ्न नसकेको बताउनुभयो ।
सरकार र निजी क्षेत्रबीच समन्वय कमजोर हुँदा पोखराले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न नसकेको र पर्यटकको आगमन घटेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ ।
प्रत्यक्ष १५ हजार व्यक्तिले रोजगार पाएको पर्यटन क्षेत्रमा पर्यटकको आगमनको सुस्तताले धेरैलाई असर गरेकाले सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै यी चुनौती समाधान गर्न तथा पोखरालाई फेरि आकर्षक र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने व्यवसायीको विश्वास छ ।।






प्रतिक्रिया राख्नुहोस्