बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै

सुनसरी- वर्षायाममा बाढी आउँदा सप्तकोसीको राक्षसी रूप देखिन्छ । पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोसी नदीमा पानीको बाहव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोसी नदीमा केन्द्रीत हुन्छ ।

वर्षायाममा पानी र बाढीले भरीभराउ हुने सप्तकोसी नदीमा सुख्खायाममा भने बालुवा नै बालुवा देखिन्छन् । धेरै ठाउँमा त बालुवाका टापु नै देखिन्छन् । यी टापु देख्नेले भन्छन्, “नदीको सतह उच्चो भयो, नदी क्षेत्रमा बालुवा तथा गेग्य्रान भरिँदा वर्षामा नदी उर्लिएर त्यस आसपास सुनसरी र सप्तरी क्षेत्रका बासिन्दालाई त्राहिमान बनाउन थाल्यो ।”

सप्तकोसी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ ।

सुनकोसी, दूधकोसी, इन्द्रावती, तामाकोसी, अरुण, तमोर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोसी नदीमा बालुवा थुप्रिदै गएपछि नदीको गहिराई कम हुँदै गई सतह पुरिदै जाँदा हरेक वर्ष जोखिम थपिँदै गएको छ ।

बराहक्षेत्र–९ का भिम कार्की विगत वर्षमा पहाडबाट ठूलो पानी र बाढी उर्लेर आउँदा पनि खासै असर नपर्ने यस नदीमा पछिल्ला दिनमा सामान्य बाढी आउँदा पनि उग्र रूप देखिने गरेको बताउनुहुन्छ ।

“पहाडी भूभागमा सामान्य वर्षा हुनासाथ सप्तकोसीमा पानीको मात्रा बढ्ने गरेको छ । नदीले वर्षाका चार महिना (जेठ, असार, साउन, भदौ) आफ्नो रौद्र रूप देखाउँदै आएको छ । बाढीसँगै बगेर आउने बालुवाजन्य सामग्रीले नदी उच्च हुँदै जादा यहाँ बालुवाका टापु बनेका छन् । पहाडी क्षेत्रबाट आएको नदीको पानी बगेर जाने तर पानीसँगै बगेर आउने माटो, बालुवा यही थुप्रिने गर्दा समस्या छ तर सरकारले सफाइमा ध्यान दिएको छैन”, उहाँले भन्नुभयो ।

इनरुवाका वरिष्ठ पत्रकार शशि कोइराला बाढीमा आउने बालुवाजन्य सामग्री थुप्रेर नदी निर्बाध बग्न नपाएकै कारण समस्या सिर्जना भइरहेको सुनाउनुहुन्छ । कोसी ब्यारेजको ढोकाले पूर्वीपहाडी जिल्लाबाट ल्याउने बालुवा, रुख, माटो, गेग्य्रान निर्वाध रूपमा बग्ने अवस्था नरहेको र त्यसरी थुप्रेका सामग्रीको उचित व्यवस्थापनमा ध्यान दिनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोसी ब्यारेजका ढोका भारतले आवश्यकतानुसार मात्र खोल्ने गरेको छ ।

सप्तकोसी डुबान, कटान तथा बाढीपीडित सङ्घर्ष समितिका उपाध्याक्ष लालबहादुर लिम्बुले कोसी नदीले आफ्नो प्राकृतिक सीमा पार गर्दै सतह उच्च हुँदै गएपछि नदीले धार परिवर्तन गर्दै गएको बताउनुभयो । नदीलाई आफ्नै अवस्थामा फर्काउन सतहबाट बालुवाजन्य सामग्री व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नौ लाख क्युसेक पानी धान्न सक्ने क्षमता भएको नदीमा पछिल्ला केही दशकदेखि एक लाख ५० हजार क्युसेक पानीको बहाव हुनेवित्तिकै निकै समस्या हुने गरेको स्थानीय नेत्र घिमिरेले बताउनुभयो ।

कोसी योजना विराटनगरका सम्पर्क तथा सह भू–आर्जन अधिकृत प्रमोद पौडेल पनि सप्तकोसी नदीमा गेग्य्रान जम्मा हुँदा वर्षायाममा जोखिम बढेको बताउनुहुन्छ । समस्या बढ्दै गए पनि स्थानीयस्तरमा आफूहरूले केही गर्नसक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“विसं २०११ वैशाखमा नेपाल र भारत सरकारबीच भएको कोसी योजनासम्बन्धी सम्झौतामा नेपालको अधिकार परामर्श दिने र अनुगमन गर्ने मात्र रहेकाले यहाँको समस्या समाधानका लागि सरकारकै तहबाट पहल गर्नुपर्ने हुन्छ”, पौडेलले भन्नुभयो ।

सप्तकोसी नदीमा गत भदौ २४ गते राति छ लाख ५५ हजार ३७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव हुँदा कोसी ब्यारेजमाथि रोड भएर बगेको थियो । यसलाई भारतको गङ्गा नदीले भन्दा बढी बालुवा थुपार्ने नदीको रूपमा चिन्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.