केही व्यक्तिहरुबाट विश्वविद्यालय असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको भन्दै असुरक्षित अवस्थाको अन्त्य गर्न आवश्यक पर्दा सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार सरकार गठनको सय दिनको अवसरमा मन्त्रालयबाट भएको प्रमुख उपलब्धिहरुको सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालय राजनीतिक दल र विद्यार्थी युनियनहरु भन्दा बाहेकको एउटा समूहबाट असुरक्षित भएको बताउनु भयो । उहाँले सो समूह विश्वविद्यालयमा निरन्तर बस्ने र प्राध्यापकहरुलाई धम्क्याउने गरेको भन्दै त्यसको अन्त्यका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनु भयो । उहाँले विभिन्न विश्वविद्यालयहरु तालाबन्दीको अवस्थामा हुँदा तालाबन्दी अन्त्यका लागि सरकारले उच्च स्तरीय आयोग बनाउन लागेको बताउनु भयो । आयोगले अध्ययन सकेपछि विश्वविद्यालयमा हुने हस्तक्षेपलाई रोक्न मापदण्ड बनाइने र सोही अनुरुप विश्वविद्यालयलाई निर्देश गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘विश्वविद्यालय सार्वजनिक क्षेत्र हो । जहाँ प्रहरी जानका लागि सार्वजनिक अपील गर्नुपर्छ भनेर लेखेँ । सायद हामीले विश्वविद्यालयमा प्रहरी माग्नका लागि सार्वजनिक रुपमा मन्त्रीले अपील गर्नु परेपछि त्यो असुरक्षित छ भन्नेपनि हामीलाई लाग्ला । त्यहाँ राजनीतिक हस्तक्षेप बढी छ भनेरै हामीले सोधिरहेका छौँ । यसमा मैले के मात्रै भन्न चाहन्छु भन्दा पहिलो कुरा त राजनीतिक हस्तक्षेपलाई अन्त्य गर्नका लागि मैले भन्न खोजेको के हो भने विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ । त्यो दल, त्यहाँको स्वतन्त्र विद्यार्थी युनियन अथवा त्यहाँ भएका विद्यार्थी युनियनहरु भन्दापनि अझ पर एउटा समूह छ, जुन त्यहाँ निरन्तर बस्छ र निरन्तर विश्वविद्यालयलाई धम्क्याउने, विश्वविद्यालयभित्र काम गर्ने प्राध्यापकहरुलाई धम्क्याउने त्यो अवस्था छ ।

त्यसलाई अन्त्य गर्नका लागि त्यहाँ सरकारले हस्तक्षेप नै गर्नुपर्छ । जब त्यस्तो स्थिति आउँछ सरकारले हस्तक्षेप गर्नुपर्छ । कृषि, वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र संस्कृत विश्वविद्यालयमा लगातार तालाबन्दी भएका कारण अब त्यसलाई अन्त्य गर्नका लागि उच्च स्तरीय आयोग बनाउनुपर्छ भनेर मन्त्रालयले त्यो काम सुरु गरेको छ । त्यो आयोगको अध्ययन पछाडी विश्वविद्यालयमा भएको हस्तक्षेपलाई कसरी रोक्न सक्छौँ भन्ने बारेमा मापदण्ड बनाएर अगाडी बढाउँछौ । त्यही अनुसार विश्वविद्यालयलाई पनि निर्देश गर्छौं ।’ उहाँले भन्नु भयो ।

मन्त्री भट्टराईले शिक्षकले राजनीतिमा लाग्ने कि नलाग्ने भन्ने कुराको समाधान विद्यालय शिक्षा ऐनले दिने भन्दै छिटोभन्दा छिटो ऐन पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सोही ऐनले शिक्षकहरु कस्तो हुने भन्ने कुराको परिभाषा गर्ने बताउनु भयो । उहाँले ऐन पारित भएपछि विद्यालय क्षेत्रभित्र देखिएका सबै बेथितिहरुलाई अन्त्य गर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.