भारत सरकारको सहयोगमा निर्मित क्याम्पस भवनको उद्घाटन

तनहुँ – नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

उक्त भवनको आज भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले थप रु २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले जानकारी दिनुभयो ।

विसं २०६९ फागुनमा निर्माण सुरु भएको उक्त भवन २०७२ मा निर्माण सम्पन्न भएको हो । दुईतले २४ कोठा भएको उक्त भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताउनुभयो । क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा रहेको उहाँले बताउनुभयो । क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा र चितवनका विद्यार्थी समेत अध्ययनरत छन् ।

आँबूखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो । यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो । क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ ।

भवन उद्घाटन गर्दै भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाका अन्य क्षेत्रमा पनि सहयोगका लागि भारत सरकारसमक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.