दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

दाङ-   दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा जिप चालक दंगीशरण गाउँपालिका ४ बैबाङका २२ वर्षीय हिरामणि बुढामगर र कपुरकोट गाउँपालिका ६ बस्ने १९ वर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरू दुवै जनाको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान साढे ६ बजेतिर मृत्यु भएको हो । यस्तै दुर्घटनामा परी घाइते हुनेमा कपुरकोट गाउँपालिका ६ बस्ने ३१ वर्षीया देवा वली, उनका १३ वर्षीय छोरा १३ महेश वली र १० वर्षीय छोरा १० जीवन वली रहेको प्रहरीले जनाएको छ ।

उनीहरू तीनै जनालाई रापती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नर्सिङ होम नेपालगन्ज बाँके गरिएको प्रहरीको भनाइ छ ।

रोल्पा कोइलाबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप जिप शनिवार बिहान करिब ४ बजेतिर रापती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ३ साततले स्थित सडकदेखि करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको इप्रका तुलसीपुरले जनाएको छ ।

जिप दुर्घटना भएको खबर प्राप्त हुन साथ इप्रका तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीसहितको गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि रापती प्रादेशिक अस्पताल तुलसीपुर पु–याएको थियो । प्रहरीका अनुसार गाडीमा चालकसहित ५ जना सवार रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.