राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वर्तमान सरकार: उपप्रधानमन्त्री पौडेल

वासिङ्टन डिसी, अमेरिका- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठुला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताउनु भएको छ। संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रही विभिन्न पेसा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई शनिवार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनतामा रहेको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा वर्तमान सरकार क्रियाशील रहेको बताउनु भयो।

उक्त अवसरमा उपप्रधानमन्त्री पौडेलले गैर आवासीय नेपालीहरूलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो।

साथै, उपप्रधानमन्त्री पौडेलले गैर आवासीय नेपाली नागरिकहरूलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैर आवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्वयनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिनु भयो।

“नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईँहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईँहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानुनी एवं प्रक्रियागत प्रबन्ध मिलाउँदै छ,” उपप्रधानमन्त्री पौडेलले अगाडि भन्नु भयो “व्यक्तिगत रूपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु।”

गैर आवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्य दूतको रूपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै उहाँले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैर आवासीय नेपालीहरूलाई धन्यवाद दिनु भयो।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानुनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना भएकाले गैर आवासीय नेपालीहरूलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गर्नु भयो। नेपालमा लगानीका लागि उच्च सम्भावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बत्ताउनु भयो।

कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझावहरू राखेका थिए।

उपप्रधानमन्त्री पौडेल विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकामा रहनु भएको अवसर पारेर नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अर्थ सचिव डा। राम प्रसाद घिमिरे, कार्यवाहक राजदूत कुमार खरेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.