बाँदरले दुःख दिन थालेपछि अमिलो जातको फलफूल खेतीमा कृषकको आकर्षण

धादिङ- अमिलो जातको फलफूललाई नत जङ्गली जनावरले दुःख दिने नत अन्य बाली भन्दा धेरै रोग कीराको प्रकोप हुने भन्दै धादिङका युवा किसानहरू अहिले अमिलो जातका फलफूल खेतीमा अग्रसर हुन थालेका छन् ।

तीन वर्ष अघिदेखि सुरु गरेको अमिलो जातको फलफूल विषेश गरी कागतीले अहिले आम्दानी दिन सुरु गरेको बताउँदै उत्पादन निकै राम्रो भएको किसानहरूको भनाई छ ।

कागती अहिले लटरम्म फलेको छ, बजारको पनि अभाव छैन, धान, मकै जस्ता अन्न बाली लगाउन भन्दा निकै सजिलो, एक पटक लगाएपछि वर्षौं आम्दानी लिन सकिने भन्दै किसानहरूमा उत्साह छाएको छ ।

बाह्रै महिना तातो हावा पानीमा समेत उन्नत जातको कागती फलाउन सकिने र बेमौसममा समेत फलाई निकै राम्रो मूल्यमा बिक्री गर्न सकिने यस्ता फलफूलले किसानहरूको आर्थिक वृद्धि गर्न निकै सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

थोरै जमिनमा गरिएको खेतीले पनि धान मकैले भन्दा धेरै आम्दानी लिन सकिने यस्तो खेतीलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकारले विषेश ध्यान दिनुपर्नेमा कृषकहरुको जोड छ ।

यसले एकातिर किसानहरूलाई व्यवसायिक बनाउन सहयोग पुर्‍याउँछ भने अर्कोतर्फ युवाहरू रोजगारीका लागि अन्य मुलुकमा जानुपर्ने बाध्यता हट्ने देखिन्छ ।

प्रति रोपनी जमिनमा तीस बोटसम्म यस्ता बिरुवा लगाउन सकिने र उत्पादन सुरु भएपछि प्रति दिन तीसदेखि चालीस किलोसम्म बिक्री गर्न सकिने छ ।

यसरी किसानहरूले उत्पादन गरेको कागती अहिले बजारमा प्रतिकिलो एक सय पचास रुपैयाँसम्म बारीबाटै बिक्री गर्दै आएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिकामा पर्ने ज्यामरुङ्ग, मुरलिभञ्ज्याङ्गलगाएत सिद्धलेक गाउँपालिकाका विभिन्न स्थानहरूमा बाँदरलगायतका अन्य जङ्गली जनावरले दुःख दिने गरेको स्थानहरूमा व्यवसायीक रुपमा कागती लगायत अन्य अमिलो जातका फलफूलको व्यवसायिक खेती गर्न किसानहरूले सुरु गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.