काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको अवस्था (फोटो फिचर)

मकवानपुर- संघीय राजधानी काठमाडौलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको काठमाडौँ–तराई–मधेस द्रुतमार्गको लम्बाई ७० दशमलव ९७७ किलोमिटर छ । संवृद्धिको मार्गका रुपमा लिइएको राष्ट्रिय गौरवको सडक आयोजनाको निर्माण जिम्मेवारी नेपाली सेनाले २०७४ सालमा पाएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म यस आयोजनाको भौतिक प्रगति ३६.४२ प्रतिशत रहेको छ । मोबिलाइजेसन सहित यस सडक आयोजनाको वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ । १३ वटा क्लस्टर बनाएर एसियन हाइवे स्ट्यान्डर्डमा यस आयोजनाको निर्माण भैरहेको छ ।

तीन वटा सुरुङमार्ग ब्रेक थ्रु

आयोजना अन्तर्गत कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटरका ६ वटा सुरुङमार्ग रहनेछन् । ३ दशमलव ३५५ किलोमिटरको महादेवटार सुरुङमार्गको दायाँ टनेल ६१ प्रतिशत र बायाँ टनेलको ६८ प्रतिशत काम सकिएको नेपाली सेनाले जनाएको छ ।

धेद्रे सुरुङ मार्गको निजगढबाट काठमाडौँतर्फ जाने १ दशमलव ६५३ किलोमिटर लामो सुरुङ ब्रेक थ्रु भैसकेको छ । काठमाडौबाट निजगढ जाने १ दशमलव ६९१ किलोमिटरको बायाँ टनेलको ९५ प्रतिशत काम भएको छ ।

लेन डाँडा सुरुङमार्गको निजगढबाट काठमाडौँ जाने र काठमाडौँबाट निजगढतर्फ आउने दुबै तर्फको ब्रेक थ्रु भैसकेको छ । एक किलोमिटर लम्बाइको देवी चौर सुरुङ, ३ सय ९० मिटरको सिसौटार र २ दशमलव २५० किलोमिटरको चन्द्रामभीर सुरुङ निर्माणको चरणमा छन् ।

नेपालको सबैभन्दा अग्लो पुल

आयोजना अन्तर्गत कुल १२ दशमलव ८८५ किलोमिटरका ८९ लामाछोटा पुलहरू रहेका छन् । ती मध्ये ८० स्थानमा पुल निमार्णाधिन अवस्थामा रहेको छ । जग्गा विवादका कारण ४ वटा पुलको निर्माण कार्य सुरु हुन सकेको छैन ।

प्याकेज नम्बर ३ अन्तर्गत मकवानपुरको राजदमार क्षेत्रमा ५ वटा पुलहरूको निर्माण कार्य सम्पन्न भैसकेको छ । यस आयोजनामा नेपालकै सबैभन्दा अग्ला ८१ मिटरसम्म उचाइको भूकम्पप्रतिरोधी पुलको निर्माण कार्य भइरहेको छ ।

नेपालमै पहिलो पटक फ्री क्यान्टिलिभर प्रविधिद्धारा पुल निर्माण गरिएको लेनडाँडा फास्ट ट्रयाक कार्यदलका प्रमुख, सेनानी निरज गौतमले जानकारी दिनुभयो । बाढी पहिरोलाई मध्यनजर गर्दै द्रुतमार्गका दुबैतर्फ ‘स्लोप प्रोटेक्सन’ निर्माण गरिएको छ । यस द्रुतमार्गमा ४८ दशमलव ३७ किमि सडक मार्ग रहेको छ ।

अधिग्रहण र रुख कटान

आयोजना निर्माणका लागि आवश्यक करिब १७ हजार ६ सय ५१ रोपनी जग्गा मध्ये व्यक्तिगत जग्गा ५ हजार ४ सय ८७ रोपनी रहेको छ । ती मध्ये हालसम्म ४ हजार ८ सय ११ रोपनी अधिग्रहण कार्य भैसकेको नेपाली सेनाले जनाएको छ ।

३१ हजार ९ सय ५० वटा रूखहरू कटान भएको छ भने नेपाली सेनाले ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोपेको जानकारी दिएको छ । द्रुतमार्गको प्रस्थान बिन्दु खोकना-बुङ्मती खण्डमा विवादका कारण जग्गा अधिग्रहण, वातावारणीय प्रभाव मूल्यांकन, रुख कटानका काम हुन सकेको छैन ।

२०८१ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य साथ २०७४ मा निर्माण थालिएको सुरुङमार्ग तोकिएको समयमा पूरा नहुने देखिएपछि साढे २ वर्ष म्याद थप गरियो । म्याद थपसँगै यसको लागत अनुमान २ खर्ब ११ अर्ब पुगेको छ ।

आयोजनाको सबैभन्दा बढी खण्ड मकवानपुरमा ४९ दशमलव ७० किलोमिटर पर्दछ । फास्ट ट्र्याक निर्माणपछि निजगढ काठमाडौ दूरी करीब सवा एक घण्टाको हुनेछ । शसुल्क मार्गमा दुईपाङ्ग्रे सवारी भने प्रवेश निषेध हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.