नयाँ संरचनाको पूर्ण कार्यान्वयन नभए सम्म वर्तमान व्यवस्थापन समितिलेनै मान्यता पाइरहन्छ : मन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्दा कुनै पनि कर्मचारी माथि अन्याय नहुने बताउनु भएको छ।

नेपाल टेलिभिजन कर्मचारी यूनियनव्दारा आज आयोजित शुभकामना कार्यक्रममा मन्त्री सुब्बाले नयाँ संरचनाको पूर्ण कार्यान्वयन नभए सम्म वर्तमान व्यवस्थापन समितिलेनै मान्यता पाइरहने बताउनु भयो।

नयाँ प्रमुख नआए सम्म वर्तमान व्यवस्थापनले नै  कामलाई निरन्तरता दिने हो भन्दै उहाँले ऐन जारी भए संगै सञ्चालक समिति खारेज हुने व्यवस्था भए पनि सङ्क्रमणकालीन अवस्थामा निरन्तरता दिने व्यवस्था समेत ऐनमा रहेकाले अर्को व्यवस्था नभए सम्म वर्तमान व्यवस्थापन नै संस्थाको हितमा काम गर्न स्वतन्त्र रहेको बताउनु भयो।

नेपाललाइ विश्व सामु चिनाउन एनटिभि वर्डको प्रसारण छिट्टै सुरु गर्न समेत निर्देशन दिनु भयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण सेवाकामा रूपान्तरण हुँदा कर्मचारीहरूले खाइपाइ आएको सेवा सुविधा नघट्ने प्रस्ट व्यवस्था रहेको बताउनु भयो ।

सार्वजनिक सेवा प्रसारण सेवाका लागि तिन ओटा नियमावली बनाउनु पर्ने हुन्छ भन्दै उहाँले नियमावली बनाउँदा सरोकारवाला पक्षको सहभागिता गराइने बताउनु भयो। समायोजन गर्दा दरबन्दी पुनर्संरचना गर्ने, पद तह र श्रेणी मिल्नेगरि समायोजन गर्ने र समायोजन गर्न नसक्नेलाई बाकी अवधिको सेवा गणना गरी सुविधा उपलब्ध गराइने सचिव अर्यालले बताउनु भयो।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाहले मुलुकको आवश्यकता अनुसार सार्वजनिक प्रसारण सेवा विधेयक आएको बताउनु भयो।

उहाँले राज्यको विकास सँग जोडिएको कुरामा धेरै टीकाटिप्पणी आवश्यक छैन भन्नु भयो।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङले सार्वजनिक प्रसारणमा उत्पादन र प्रसारण हुने सांस्कृतिक भाषिक विविधताले मुलुकलाई चाहिने र मुलुकको प्रतिनिधित्व हुने सामाग्री निर्माण गर्ने छ भन्नु भयो।

सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामा ,सार्वजनिक संस्थान कर्मचारी सङ्गठनका अध्यक्ष इन्दु आचार्य , नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोज विश्वकर्मा , नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोपाल दाहाल ,नेपाल प्रेस युनियन नेपाल टेलिभिजन प्रतिष्ठानकी अध्यक्ष ममता कोइराला ,प्रेस चौतारी नेपाल टेलिभिजन प्रतिष्ठानका अध्यक्ष रामबाबु अधिकारी र नेपाल टेलिभिजन कर्मचारी युनियनका उपाध्यक्ष अनिता गिरीले सार्वजनिक प्रसारण ऐनमा जाँदै गर्दा कर्मचारीहरूको वृत्ति विकासमा विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.