गाउँघरमा सयपत्री ढकमक्क (फोटोफिचर)

म्याग्दी- नेपालीहरुको दोस्रो महान् पर्व तिहार घर, आँगनमा भित्रिएको छ । अब तिहारको भाइटिका लगाउन चार दिन मात्रै बाँकी छ ।

दसैँ र तिहार पर्वको अवसर पारेर मुग्लान पसेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यतिबेला आफ्नो जन्मभूमि सम्झिएर गाउँघर फर्किन थालेका छन् ।

वर्ष दिनमा गाउँका घरहरु रातो र पहेँलो माटो तथा सेतो कमेरोले पोतिएपछि बेहुली जस्तै सिँगारिएका छन् । तर पछिल्लो समय गाउँमा रातो माटो र सेतो कमेरो भन्दा चुना र गेरु पोत्ने क्रम बढेको छ ।

गाउँघरमा मच्चिने लिङ्गेपिङ र रोटेपिङले चाडबाडको मौसमलाई थप रमणीय बनाइदिएको छ । शहर, बजारमा बिजुली बत्तीको झिलीमिली सुरु भएको छ भने गाउँघरमा सयपत्री, मखमली, तिहारे र गोदावरीलगायत फूलहरु ढकमक्कै फूलेका छन् ।

हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थान र गाउँघरमा पनि फूलेका फूलहरुले यतिबेला तिहारको रौनक ह्वात्तै बढेको छ । सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्मै सयपत्री र मखमली फूलहरु फूलिरहेका छन् ।

यमपञ्चकको आज पहिलो दिन अर्थात् काग तिहार रहेको छ । यतिबेला गाउँघरमा ढकमक्क फुलेका सयपत्री, मखमली, तिहारे र गोदावरी तथा लालुपाते फुलको बास्नाले गाउँ नै मगमग बसाएको छ । ढकमक्कै फूलेका तिनै फूलहरुको कारण पनि गाउँघर अहिले निकै सुन्दर, आकर्षक र मनमोहक देखिएका छन् ।

घर, आँगन, डिल, बारी, कान्ला र खोल्सा-खोल्सीमा फुलेका फुलहरुले तिहार नजिकिएको सङ्केत गर्दछन् । सहर, बजारमा पनि रङ्गेली रङ, झिलीमिली बत्ती, विभिन्न प्रकारका फूलहरु र मालाले तिहार पर्वलाई स्वागत गरिरहेको देखिन्छ ।

नेपाली समाजमा तिहार पर्वलाई उज्यालो र फूलै फूलको पर्वको रुपमा लिने गरिएको छ । तिहारको अन्तिम अर्थात् भाइटीकाको दिनमा मखमली र सयपत्री फुलको माला अनिवार्य जस्तै बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.